शनिबार, १४ मंसिर २०७६
DainikNepal.com
शनिबार, १४ मंसिर २०७६

बलात्कार आरोपित कृष्णदास : जसले झुक्याएर प्रचण्ड र सुजातालाई भैंसीको पुच्छर समात्न लगाएका थिए

दैनिक नेपाल २०७६ मंसिर १३ गते १२:४८

काठमाडौं, १३ मंसिर । बलात्कार गरेको आरोप लागेका सिद्धबाबा उपनामले चिनिने जगत गुरुको उपमा पाएका कृष्णदास गिरी विवादमा तानिए ।

विवादै विवादको चाङमा उभिएर उनले जगत गुरुको उपाधीमात्र पाएका होइनन्, कहिले दशैंमा पानीभित्र ९ दिनसम्म समाधी बसेर जमरा उमारेको भन्ने भ्रम पनि छरेको आरोप लाग्ने गरेको थियो ।

यति मात्र होइन जब उनी बराहक्षेत्रमा १२ बर्षअघि पुगे, चर्चामा आउन तत्कालिन नेकपा माओवादीका अध्यक्ष तथा क्रान्तिकारी नेता पुष्पकमल दाहाल प्रचण्डलाई पनि भ्रममा पारेर विवादमा तानिदिए ।

उनले प्रधानमन्त्रीका हैसियतमा १२ बर्षको अन्तरालमा बराह क्षेत्रमा लाग्ने कुम्भ मेलाको उद्घाटनका क्रममा प्रचण्डलाई र समापनका क्रममा कांग्रेस नेत्री सुजाता कोइरालालाई संकट मोचनका नाममा भैंसीको पुच्छर समातेर पुजा गर्न लगाएका थिए ।

त्यसबेला कृष्णदास गिरीले जगत् गुरुको उपमा पाएका थिएनन् । उनी नै प्रमुख आयोजक भएर लगाएको मेलामा चार जना मानिसको मृत्यु भएपछि उनी बराहक्षेत्रबाट केही बर्षका लागि फरार पनि थिए । तर, पछि जगत् गुरुको उपमा लिएर उनी सोही क्षेत्रमा फर्किए ।

गएको ४ कात्तिकमा एक महिलाले उनलाई बलात्कार गरेको आरोपसहितको उजुरी प्रहरीमा दर्ता गराएपछि सिद्धबाबा अझ विवादमा तानिएका हुन् ।

सिद्धबाबामाथि लागेको आरोपका विषयमा भने प्रहरीले अनुसन्धान र छानबिनको प्रक्रिया अगाडि बढाएको छ । सुनसरी प्रहरीले कृष्णदासविरुद्ध परेको उजुरी पाएको छ, पक्राउ गर्ने या नगर्ने भन्ने विषयमा उपल्लो निकायको निर्देशन पर्खिएको छ ।

जगत गुरुको उपमा पाइसकेका कारण गिरीलाई सरकारी सुविधामात्र हुँदैन, धार्मिक क्षेत्रमा उनलाई हाईप्रोफाइल कै हैसियत राज्यले दिएको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित