शुक्रबार, १३ मंसिर २०७६
DainikNepal.com
शुक्रबार, १३ मंसिर २०७६

मन्त्री मगरले प्रचण्डलाई आलोचनाको ‘कालकुट विष’ पिउन बाध्य पार्नुको अन्तरकथा

दैनिक नेपाल २०७६ मंसिर १२ गते १२:४०

काठमाडौं, १२ मंसिर । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई पदबाट नहटाउनुको अन्तरकथाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अन्तरवार्तामा सांकेतिक रुपमा भने,‘राजनीतिमा कतिपय विषय सहयात्रीको कुरामा पनि निर्भर हुन्छ ।’

ओलीको प्रस्ट संकेत थियो कि मन्त्री मगरलाई उनी हटाउन चहान्थे तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहले उनलाई छेक्यो । प्रचण्ड आफैं पनि सुदूरपश्चिमबाट लेखराज भट्टलाई मन्त्री नियुक्त गरेपछि मगरलाई हटाउन चहान्थे । त्यसो हुन सकेन ।

त्यसो हुन नसक्नुमा मन्त्री मगरको ‘भावनात्मक आग्रह’ले काम गरेको बताइन्छ । मगरको आलोचनाका कारण नै प्रचण्डलाई जोड्ने र पार्टीमा काम गर्ने वातावरण पनि त्यति कसिलो हुन सकेको छैन । पार्टी कामका शिलशिलामा प्रचण्ड धपेडीमा भए पनि उनलाई घोच्ने विषय बन्यो– मन्त्री मगर पदमा टिक्नु ।

मन्त्रिपरिषद् पुनर्गठनका समयमा प्रधानमन्त्री ओलीले मन्त्री मगरलाई हटाउने निश्चित जस्तो थियो । मेलम्ची प्रकरणमा मगरको ‘हर्कत’लाई प्रधानमन्त्री ओली नजरअन्दाज गर्न चहाँदैन थिए ।

एक मात्र पुत्र प्रकाश दाहालको नाम लिएर उसको चाहनालाई कदर गर्न मन्त्री मगरले अध्यक्ष प्रचण्डलाई आफूले राजीनामा नदिने बताएपछि तत्कालका लागि नजरअन्दाज गरिदिएको बताइन्छ ।

नेकपाका एक नेताका अनुसार कार्यप्रगति अत्यन्तै खराब हुँदाहुँदै पनि मन्त्री मगरका लागि प्रचण्डले आलोचनाको कालकुट विष तत्कालका लागि पिउने नै निधो गरे । तर केही महिनामा मन्त्री मगरको कार्यशैलीमा प्रगति नभए अर्थमन्त्री युवराज खतिवडासँगै हटाउने तयारी पनि गरिएको छ ।

मेलम्ची प्रकरण मन्त्री मगरको विवादको चुरो विषय बन्यो । मन्त्री नियुक्त हुनासाथ उनले काठमाडौं र आसपासका मेलम्ची खानेपानी आयोजनाबाट लाभान्वित हुने जनतालाई झुक्याइन् । एक सर्वसाधारण भन्छन्,‘तीन महिना, ६ महिनामा पानी आउँछ भन्नेको पद गएन, मेलम्ची आउने टुंगो भएन । यो सरासर ढाँटेको हो ।’

मेलम्ची आयोजनाका विषयमा तत्कालिन ठेकेदार कम्पनीका प्रतिनिधि र कामदारलाई आफ्ना स्वकिय सचिवलगायत लगाएर पक्राउ गर्ने, राहदानी जफत गर्ने असफल प्रयासमा पनि मन्त्री मगरको भूमिका बलियो थियो ।

आफैंले सरुवा गरी ल्याएका मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्ची प्रकरणमा मन्त्री मगरको नीजि स्वार्थ हावी भएको सार्वजनिक नै गरेका थिए । मन्त्रालयबाट सरुवा गर्दा उनले पत्रकार सम्मेलन गरेर नै आफूले राष्ट्रहित विपरित भएकाले मन्त्री मगरको निर्देशनलाई नमानेको बताएका थिए ।

नेपालको इतिहासमा विभागीय मन्त्रीविरुद्ध बाहलवाला सचिवले यसरी कहिल्यै पनि आलोचना मात्र गरेको थिएन, राष्ट्रको गरिमा जोडेर आरोप लगाउने धृष्टता नै गरेको थिएन । ठाकुरले मन्त्री मगरविरुद्ध गरिदिए ।

‘सचिव गलत थिए भने सरकारले उनलाई स्पष्टीकरण सोध्ने, कारबाहीको प्रक्रियामा लैजाने काम गर्न सक्ने थियो तर त्यसो नगर्नुको पछाडिको कारण स्वभावि छ, मन्त्रीको मनोपोली छ’, खानेपानी मन्त्रालय स्रोतले भन्यो,‘नयाँ टेन्डरदेखि प्रक्रियाका अन्य काम गराई त्यसबाट लाभ लिने महत्वकांक्षाकै आधारमा यस्तो भएको हुनुपर्छ ।’

सम्भवतः मेलम्ची प्रकरणमा नै मन्त्री मगरले सबैभन्दा धेरै संसदीय समिति, प्रतिनिधि सभामा बोल्नु परेको थियो । प्रतिपक्षी दलका नेता गगन थापाले मन्त्री मगर र सचिव ठाकुरको विवाद सतहमा आएपछि यस प्रकरणमा प्रस्ट बनाउन भनेका थिए । मन्त्रीको जवाफ थियो,‘मिशन नै मेलम्ची हो ।’ कांग्रेसका एक नेता भन्छन्,‘तर उक्त सवालजवाफ भएको नै बर्ष दिन बित्यो, मेलम्ची कहाँ छ थाहा छैन !’

प्रचण्ड आफैं पनि खानेपानी मन्त्रालयको कामबाट सन्तुष्ट नरहेको सार्वजनिक फोरममा बोल्न बाध्य भएका थिए । उनले एउटा समहारोहमा सम्बन्धित मन्त्रालयको कार्यक्रमको प्रमुख अतिथिको मञ्चबाट नै भनेका थिए,‘मेलम्चीको काम राम्रो भएको छैन । सरकारले यस मन्त्रालयका कामप्रति चासो राख्छ, निर्णय गर्न सक्छ ।’

उनको यो भनाईका आधारमा नै मन्त्रिपरिषद् पुनर्गठनका क्रममा मगर हट्ने अनुमान र अड्कलबाजी सतहसम्म स्वभाविक बन्यो । तर, त्यस्तो परिणाम नआउँदा प्रधानमन्त्री ओली, प्रचण्ड र मन्त्री मगरकै पनि सामाजिक सञ्जालदेखि आम जञ्जालसम्म व्यापक आलोचना अझै भइरहेको छ ।

यति धेरै विवाद र आलोचनामा घेरिएकी मन्त्री मगरले छोरा प्रकाशको नाम लिएर राजीनामा नदिने बताएपछि प्रचण्डसँग ‘आलोचनाको कालकुट विष’ पिएर बस्नुभन्दा अर्को विकल्प नै बनेन । मन्त्री नियुक्ति गर्दा जति आलोचना भएको थियो, पुनर्गठनमा नहटाउँदा त्यो भन्दा बढी आलोचना खेपिरहेका छन्, प्रचण्ड ।

प्रतिक्रिया
सम्बन्धित