काठमाडौं, ११ मंसिर । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेरमा आफूसँग कुनै पनि सल्लाह नगरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले ओलीले एक पटक पनि सत्तासाझेदार दलसँग परामर्श नगरेको बताए ।
‘प्रधानमन्त्रीजीले मसँग मन्त्रालय परिवर्तन र नयाँ मन्त्री नियुक्तिका विषयमा सल्लाह गर्नुभएन’, उनले भने, ‘म संविधान संशोधन गर्न आएकाले सरकार छाड्दैनौँ । सरकारमा बस्छौँ ।’
संविधान संशोधन कहिले हुन्छ भन्ने जिज्ञासामा उनले भनेका छन्, ‘संविधान संशोधन कहिले हुन्छ भन्न सकिँदैन । तर, संविधान समय आएपछि हुन्छ ।’
तपाई कानून मन्त्री भएका बेला संशोधनको प्रस्ताव संसदमा लैजानु हुन्छ होला नि ? भन्ने जिज्ञासामा मन्त्री यादवले भने, ‘संविधान संशोधन नहुने होइन । समय आएपछि संशोधन हुन्छ ।’
तपाईलाई प्रधानमन्त्रीले घटवा गरेर अर्को मन्त्रालय दिनुभयो है भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘मन्त्रालय परिवर्तन गर्दा एक पटक मसँग सल्लाह गरेको भए हुने थियो ।’
उपप्रधानमन्त्री यादव नयाँदिल्लीमा रहेका बेला प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालय भानभक्त ढकाललाई दिएर यादवलाई कानून मन्त्रालयमा सरुवा गरिदिएका थिए ।
मन्त्री यादवले सरकार कुनै पनि हालतमा नछाड्ने बताएका छन् । उनले सरकारमा रहेर संविधान संशोधन र जनताका काम गर्ने बताए ।











प्रतिक्रिया