५ कार्तिक २०८३, बिहिबार

भारतले जवाफ नदिँदा दुईपक्षीय बैठक अनिश्चित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन।

नेपाली भूमि अतिक्रमणप्रति नेपाल सरकारले विरोध जनाउँदै गत साता भारतलाई कूटनीतिक नोट पठाएर परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठक प्रस्ताव गरेको थियो। तर, भारतले अहिलेसम्म जवाफ नदिएकाले दुईपक्षीय बैठक अनिश्चित बनेको हो।

‘हामीले कूटनीतिक नोट बुझाउँदै तत्काल बैठक बस्न भारतीय पक्षसँग आग्रह गरेका छौं’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘हाम्रा तर्फबाट कूटनीतिक नोट बुझाउँदै तत्काल सीमा विवादसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन प्रस्ताव गरिएको छ। भारतीय पक्षले यसबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।’

सीमा विवाद समाधानका लागि नेपाली पक्षले कूटनीतिक पहल सुरु गरे पनि भारतीय पक्ष गम्भीर नहुँदा दुईपक्षीय वार्ता सुरु हुन नसकेको हो। ‘हाम्रा तर्फबाट कूटनीतिक पहल भए पनि भारतीय पक्ष गम्भीर नहुँदा वार्ता हुन सकेको छैन,’ स्रोतले भन्यो।

गत शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले पत्रकारसँग नेपाल–भारत विदेश सचिवस्तरीय बैठकबारे कुनै पहल नभएको बताएका थिए। उनले यस विषयमा औपचारिक रुपमा कुनै कुरा अघि नबढेको पनि बताएका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।