काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। उनी अबका केही दिन अस्पतालमै रहने भएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार दिउँसो ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो। शल्यक्रियापछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले उनलाई त्यहीं भर्ना गरिएको छ।
हाल उनलाई अस्पतालको आइसियूमा उच्च निगरानीमा राखिएको छ। अस्पतालले साँझ साढे सात बजे विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली मंगलबार र बुधबार अस्पतालमै रहने बताए। ‘बाहिर आएजस्तो तीन दिन भन्ने होइन, चिकित्सकले केही दिन भन्नुभएको छ।
त्यसकारण आज र भोलि अस्पतालमै रहनुहुन्छ। आवश्यक चेकजाँचपछि उहाँलाई निवास पठाउने कि अस्पतालमै आराम गराउने भन्नेबारेमा चिकित्सकको परामर्श आवश्यक पर्छ’, थापाले मंगलबार साँझ भने।
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेशसिंह भण्डारी र ओलीकी निजी चिकित्सक दिव्या सिंहको टोलीले गरेको थियो।
‘प्रधानमन्त्रीलाई पेट दुखेर अस्पताल लगिएको थियो, परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको थाहा भएपछि गरिएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ,’ थापाले भने।
प्रधानमन्त्रीलाई बिहान ९ः३० बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो। त्यहीं भर्ना गरेर दिउँसो १२ः३० मा शल्यक्रिया गरिएको हो। प्रधानमन्त्री ओलीलाई रातिदेखि नै पेट दुखेको थियो। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया