बुधबार, ११ मंसिर २०७६
DainikNepal.com
बुधबार, ११ मंसिर २०७६

चितवनमा नेकपा कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए

दैनिक नेपाल २०७६ मंसिर १० गते ९:५१

भारतपुर, १० मंसिर । चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दीपक मगरले नेपाली कांग्रेसका नेता टेकबहादुर परियारलाई कुटपिट गरेका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने मगरले नेपाली कांग्रेसका स्थानीय नेता परियारलाई सांघातिक आक्रमण गरेका हुन् ।

मगरले खैरहनीस्थित चैनपुरमा रहेको घरमै पुगेर परियारलाई रडले प्रहार गरेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । कुटपिटबाट परियारको टाउकोमा छ वटा टाँका लागको छ । शरीरभरि निलडाम रहेको छ ।

नेकपा चितवनका स्थानीय नेता परियार मंसिर ६ गते नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

परियार नेपाली कांग्रेसमा प्रवेश गरेपछि आत्तिएका नेकपा चितवनका अरिँगालहरूले ज्यान लिने गरेर आक्रमण गरेका छन् ।

परियारलाई कुटपिट गर्ने नेकपाका स्थानीय नेता मगरलाई प्रहरीले पक्राउ गरेको छैन । प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले मगरलाई राजनीतिक संरक्षण दिएको आरोप छ ।

नेपाली कांग्रेसले चितवनको खैरहनीको वडा नम्बर ५ मा प्रतिमा कार्की बस्नेतलाई वडाध्यक्षमा जिताउन चुनावी अभियान गर्दै आएको छ ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा वडाध्यक्ष पद जित्ने देखेपछि नेकपालाई तनाब भएको छ । तनाब भएपछि नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई सांघातिक आक्रमणमा उत्रिएको आरोप चितवन कांग्रेसका सभापति श्रेष्ठले बताए ।

नेपाली कांग्रेसका नेता परियारलाई कुटपिट गर्ने नेकपाका नेता मगरलाई चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पक्राउ गरेका छैनन् । चितवन कांग्रेसले नेकपाका मगरको हर्कतको जानकारी प्रहरीलाई गराइसकेको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड तीन दिनदेखि चितवनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित