१ कार्तिक २०८३, आइतबार

हङकङमा सरकारविरोधी आन्दोलनकारीकाे सानदार जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ, ९ मंसिर । झन्डै ६ महिनादेखि सरकारविरोधी आन्दोलन गरिरहेका हङकङवासीले आइतबार भएको जिल्ला परिषद्को चुनावमा सानदार जित हात पारेका छन्।

साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रका अनुसार सोमबार बिहानसम्मको मतगणनामा सरकारविरोधी उम्मेदवारले १८ मध्ये १७ जिल्लामा चुनाव जितेका छन्। २७८ सिटमा प्रजातन्त्र पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन्।

सन् २०१५ को चुनावबाट बनेका जिल्ला परिषद चीनसमर्थित पार्टीको दबदबा थियो। यसपालि सरकारविरोधी आन्दोलन गरिरहेका धेरै युवा जिल्ला परिषदमा उम्मेदवार बनेका थिए।

आन्दोलनकारीले चुनावलाई पनि आन्दोलनकै एक हिस्सा बनाएका थिए। उनीहरूले सबै क्षेत्रमा उम्मेदवारमात्र दिएनन्। सक्रियताका साथ मतदानमा पनि भाग लिए।

आइतबारको चुनावमा २९ लाखभन्दा बढी मतदाताले भोट हालेका थिए। तीमध्ये अधिकांश युवा आन्दोलनकारी थिए। आइतबार ७१.२ प्रतिशत मत खसेको थियो जबकी चार वर्षअघि भएको चुनावमा ४७ प्रतिशतले मात्र मत हालेका थिए।

हङकङको सबैभन्दा ठूलो संस्थापन पक्षधर पार्टी डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोगेस अफ हङकङले २१ सिट जितेको छ भने बेङजिङ पक्षधरले ४२ सिट हात पारेका छन्। २४ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।

प्रजातन्त्र पक्षधर आन्दोलनकारीलाई यो जितको दीर्घकालीन महत्व छ। जिल्ला परिषदका सदस्य संख्याको आधारमा उनीहरूले शहरको प्रमुख कार्यकारी चुन्ने समितिमा सदस्य पाउँछन्। अहिलेको जितका आधार उनीहरूले उक्त समितिमा १२० सदस्य पाउने देखिएको छ।