सोमबार, ९ मंसिर २०७६
DainikNepal.com
सोमबार, ९ मंसिर २०७६

सेवानिवृत्त हुनुअघि आईजी खनालको एउटा मिशन

दैनिक नेपाल २०७६ मंसिर ८ गते ९:५२

काठमाडौं, ८ मंसिर । नियमित प्रक्रिया अन्तर्गत केही महिनामा प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल सेवा निवृत्त हुँदैछन् ।

आफ्नो कार्यकालमा धेरै प्रकरणमा उल्लेख्य नतिजा निकालेका खनालको दाँतमा लागेको ढुंगोचाहिँ कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अभियुक्तलाई कठघरामा उभ्याउन नसक्नु हो ।

‘सकभर यो प्रकरणलाई पनि आफ्नो कार्यकालमा नै टुंगो लगाउने रहर छ । अनुसन्धान जारी छ । मेरो समयमा नभए पनि कसैको समयमा त यसको नतिजा आउने नै छ’, एउटा अन्तरवार्तामा उनले भनेका थिए,‘प्रहरीले कुनै पनि प्रकारको अनुसन्धानलाई आफ्नो तरिकाले गैरप्रभावका आधारमा गरेको हुन्छ ।’

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरण, १२ बर्षअघि भएको रौतहटको राजापुर विस्फोट र हत्या प्रकरणमा सांसद महोम्मद अफताब आलम, बालक अपहरण र हत्या गर्नेसँगका इन्काउन्टरलगायतका काममा आईजी खनालको नेतृत्व सफल भएको छ ।

यतिमात्र होइन, कृषि विकास बैंकको रकम ठगी, एटिएम ह्याकिङलगायतका काममा पनि आईजी खनालको कार्यकालमा उल्लेख्य काम भएका छन् ।

सरकारको चुनौतिका रुपमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कतिपय हिंसात्मक गतिविधि रोक्नका लागि पनि आईजी खनालले प्रहरी परिचालनलाई बलियो बनाए । देशैभरी विप्लवका कार्यकर्ता पक्राउ गरिए, इन्काउन्टर समेत भयो भने कतिपयको भागाभागको अवस्था आयो ।

‘सरकारको नीति र निर्देशनअनुसार प्रहरीले काम गर्न पायो । यसमा आईजीको निर्देशन मुख्य थियो’, एक एसएसपी भन्छन्,‘कुशल नेतृत्व हुँदा अनेक प्रकारका काम सक्रियताका साथ हुन सक्छ, प्रहरीले गर्न जान्दछ ।’

तर आईजी खनालले निर्मला पन्त प्रकरण टुंगो लगाउने निधो समेत गरेका छन् । हालै मात्र सुदूरपश्चिमको भ्रमणका क्रममा उनले केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख डिआईजी निरज शाहीलाई लिएर भ्रमण गरे । पन्त प्रकरणको अनुसन्धानको प्रगति विवरण बुझ्दै सीआईबीलाई सक्रिय हुनका लागि पनि उनले निर्देशन दिएका छन् ।

भताभुङ्ग संगठनले समातेको लय

खनाल आईजीमा बढुवा गर्नुअघि संगठन भद्रगोल अवस्थामा थियो । राजनीतिक खिचातानीका कारण प्रहरी प्रमुख छान्न नै कठिन अवस्था आएको र खुला राजनीति देखिएको संगठनको नेतृत्व तत्कालिन अवस्थामा प्रकाश अर्यालले गरेका थिए ।

अर्यालपछि आईजी भएपछि खनालले नीतिगत तह, रोकिएका सरुवा बढुवा, प्रहरी कर्मचारीको भर्ना, प्रदेश प्रहरी कार्यालय स्थापनालगायतका कामलाई तिव्रताका साथ अघि बढाए ।

अहिले सातै प्रदेशमा प्रहरीको कार्यालय स्थापना गरिएको छ भने जिम्मेवारीसहित प्रमुखले काम गरिरहेका छन् । सचिवालय स्रोतका अनुसार नीतिगतदेखि बजेट व्यवस्थापन, कार्यालय व्यवस्थापनका विषय जटिल थिए । सबैलाई सहजताका साथ काम गर्नका निम्ति आईजी खनालको स्पष्ट कार्यनीति तयार पारिएको थियो ।

सामाजिक अपराध, प्रहरीसम्म सर्वसाधारणको पहुँच, सुरक्षाका दृष्टिकोणलगायतका विषयमा जानकारी गराउन स्थानीय तहसँगको सहकार्यमा देशैभरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि आईजी खनालले प्रभावकारी हिसाबले चलाए । जुन अहिले पनि चलिरहेको छ ।

‘संख्याका हिसाबले प्रहरीले काम गर्न नसकेको भन्ने आरोप आउँथ्यो तर यो कार्यक्रम चलाएपछि प्रहरीसँगको समुदायको सहकार्य बलियो भएको छ’, एक अधिकारी भन्छन्,‘अहिले सबै जिल्लामा साझेदारी कार्यक्रम छन्, प्रहरी कार्यालयमा यसका काम कारबाही र तरिकाका सन्दर्भको सामग्री तयार छन् ।’

प्रतिक्रिया
सम्बन्धित