बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

चेन अफ कमान्डबाट भाइटल अफ पार्लियामेन्ट

दैनिक नेपाल २०७६ मंसिर ७ गते ११:२८

काठमाडौं, ७ मंसिर । सहरको नजिक छन् तर ललितपुरका दुर्गम बस्ती र जनतामाझ हुन्छन् नेकपा सांसद नवराज सिलवाल । बलियो सरकारका एक खरो समर्थक भएकाले नै उनी ‘भाइटल अफ पार्लियामेन्ट’ शव्दका हकदार छन् ।

एउटा सांसद सत्ता वा प्रतिपक्षका लागि निक्कै महत्वपूर्ण हुन्छ, ‘टप’बाट हेर्दा । अनि, हजारौं जनताको प्रतिनिधि बनेर राज्यको निकायलाई झकझक्याउने कसी हुन्छ, ‘बटम’बाट । सिलवाल निर्वाचित सांसद भएकाले उनको जिम्मेवारीको ओज यसरी नै व्याख्या हुन्छ ।

जीन्दगीभरी चेन अफ कमान्डमा रहे । जब त्यसको नेतृत्व गर्ने हक आयो, राजनीतिक तुसारापातको शिकार भए । स्वार्थको घेराबन्दीमा परे । त्यहिँदेखि उनको जीवनको अर्को फरक अध्याय सुरु भयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन रहेको, उपसभापति विमलेन्द्र निधि गृहमन्त्री भएको सरकारले उनलाई पदमा पुग्न दिएन । फलतः तत्कालिन एमालेबाट संघीय सदनका लागि टिकट पाएका सिलवालले कांग्रेसको गढ ढालिदिए, जनताले उनलाई विश्वास गरे ।

‘प्रहरी प्रमुख हुने रहर होइन अधिकार नै थियो । तर परिस्थितिले सदनमा धकेल्यो’, शालिन भाषामा सिलवाल भन्छन्,‘अहिले जनताको दैलोमा नै छु । निर्वाचन क्षेत्रमा घुम्छु समस्याबारे बुझ्छु ।’

ललितपुरको गोदावारीमा छ उनको घर । घरदेखि मास्तिर देखिने डाँडा र ग्रामिण भेगका जनता उनका मतदाता हुन् । त्यो भेगले पत्याएका सिलवाल भन्छन्,‘प्रहरीमा हुँदा पनि जनताको सेवा गरिएको थियो, अहिले सांसद भएर उनीहरूको मुद्दा राज्यको नीतिगत तहसम्म लैजाने कर्तव्यमा अभ्यस्त छु ।’

२९ बर्षको प्रहरी सेवामा उनका अनेक अनुभव छन् । ति अनुभव कुनै स्वभाविक र कतिपय अस्वभाविक छन् । दुनियाँले देखेको अस्वभाविक अनुभवचाहिँ उनी डिआईजीबाट प्रहरी प्रमुख (आईजी) हुनेबेला तयार पारिएको राजनीतिक अचानो थियो ।

सिलवाललाई आईजी हुनबाट राजनीतिक बितण्डा नै गरेर रोकियो । कांग्रेस–माओवादी गठबन्धनको तत्कालिन सरकार र सर्वोच्च अदालतबीच जुहारी जस्तो भयो । यहाँसम्मकी सिलवाल एउटा प्रकरण बनिदिए, जसको अगुल्टोमा राखेर तत्कालिन बाहलवाला प्रधानन्यायाधीश सुशीला कार्कीलाई झोस्ने काम कांग्रेसले गरेको थियो । यसका धेरै पाटा खुले ।

सिलवाल मुद्दाका विषयमा नै लविङ गर्नका लागि हालका राष्ट्रिय सभा सांसद रामनारायण विडारीदेखि बर्षमान पुनसम्मको विषय कार्कीले कतिपय अन्तरवार्तामा खुलाएकी थिइन् । त्यसको केन्द्रविन्दुमा सिलवाल नै खास कारण थिए ।

उनले कहिल्यै पनि नेता वा सांसद बन्छु भन्ने सोचेका थिएनन् । राष्ट्र सेवक प्रहरी अधिकारीको सेवा गर्ने लयमा रहेका कारण राजनतिप्रति चासो थिएन । ‘कहिलेकाँही परिस्थिति अचानक आइदिन्छ, मानिसले क्षणभरमा राम्रै निर्णय पनि लिएको हुन्छ’, सिलवाल सुनाउँछन् ।

आजभोलीको दिनचर्या विहान निवासमा आउने नेकपा कार्यकर्तासँगको भलाकुसारी, स्थानीय राजनीतिक दलको गति, जनताका गुनासा सुनेर बित्छ । दिउँसो सदनका महत्वपूर्ण बैठक भए संसद भवन, संसदीय समितिका कामकारबाही भए त्यहाँ अन्यथा आफ्नै क्षेत्रमा बिताउने गरेका छन्, उनले ।

प्रतिक्रिया
सम्बन्धित