१० मंसिर २०८३, बिहिबार

मन्त्रिपरिषदबाट बिना मगर नहटाउनुको कारण के हुनसक्छ ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई हटाएर नयाँ अनुहार ल्याउनु र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेको विषय कतिपयले रुचाएका छैनन् ।

आम साधारण र सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा खरो टिप्पणी गरेका छन् भने कतिपय नेकपा नेताले नै यसमा नेतृत्वको मनपरी भएको टिप्पणी गरेका थिए ।

यस मध्येमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको आपत्ति रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत नै कार्य सम्पादन मुल्यांकनअनुसार मन्त्रिपरिषद्को पुनर्गठन नभएको, नेताको मनोपोलीमा भएको भावमा टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले गोकर्ण विष्ट, लालबाबु पण्डित, थममाया थापामगर, चक्रपाणी खनाल, रघुवीर महासेठ र मात्रीका यादवलाई हटाएका थिए ।

हटाइएका मध्ये गोकर्ण विष्टको पक्षमा सामाजिक सञ्जालमा व्यापक चर्चा गरिएको छ भने नहटाइएकी खानेपानी तथा ढल व्यवस्थापनमन्त्री बिना मगरका बारेमा पनि टिप्पणी भएको छ ।

धेरैले मन्त्री मगरलाई हटाउनुपर्ने र विष्टलाई राख्नुपर्ने तर्क गरेका थिए । कतिपयले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी भएका कारणले नै कार्य सम्पादनको हेक्का नराखी मन्त्री मगरलाई नहटाइएको टिप्पणी पनि गरेका छन् ।

तर प्रचण्डले मन्त्रिपरिषद्का सदस्य हटाउने या राख्ने भन्ने अधिकार प्रधानमन्त्रीमा रहेको बताउँदै आएका थिए । प्रधानमन्त्रीको यस्तो निर्णय आउनुअघि नै सचिवालयको बैठकले मन्त्रिपरिषद्को सबै जिम्मा ओलीले लिने र पार्टीको कार्यकारी जिम्मा प्रचण्डले गर्ने आधिकारीक निर्णय गरेको थियो ।

यो आधिकारीकताका आधारमा मन्त्री मगर नहटाउनु या उनको कार्यसम्पादनमा प्रधानमन्त्री ओलीले विचार गर्नु, उनैको निर्णयमा आधारित रहेको प्रस्ट नै छ ।

बालुवाटार स्रोतका अनुसार हरेक मन्त्रीको कार्य सम्पादनका विषयमा प्रधानमन्त्री विचरणीय छन् । उनले पाएको अधिकारको यो पहिलो प्रयोग गरेका हुन् भने कुनै पनि बेला जुनसुकै मन्त्री हेरफेर हुनसक्ने सम्भावना रहेको स्रोतले उल्लेख गरेको छ ।

‘मन्त्रिपरिषद्मा महिला सदस्य अति कम नबनाउनका लागि मगरलाई तत्काल नहटाइएको हुन सक्छ । कार्य सम्पादन मुल्यांकन अहिले पनि जारी छ, कुनै पनि बेला हटाउन सक्ने अधिकार प्रधानमन्त्रीसँग छ’, स्रोतले भन्यो,‘प्रधानमन्त्रीले यसमा नातावाद वा कुनै विषयलाई हेर्नुभएको छैन ।’

मन्त्री मगरलाई प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनको व्यवाहारिक पाटोको काम गर्न सक्ने वा नसक्ने भन्ने विषयलाई आँकलन गरेर नहटाएको पनि चर्चा छ । आगामी दुई महिनाभित्र मेलम्चीको काममा कुनै पनि प्रगति नभए वा विवादमा आए मगरलाई हटाउन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

‘मेलम्चीका विषयमा प्रधानमन्त्री गम्भिर हुनुहुन्छ, यसमा बारम्बार मन्त्री मगरको कामको बारेमा हेक्का राखिएको छ । प्रगति हुन्छ या हुन्न भन्ने विषयमा उहाँ गम्भिर देखिनुभएको छ’, स्रोतले भन्यो,‘त्यसैले फेरिएका र थपिएका मन्त्रीलाई पनि काम र जिम्मेवारीमा गुनासो आए जुनसुकै बेला जे पनि हुनसक्ने चेतावनी प्रधानमन्त्रीले दिइसक्नु भएको छ ।’

मन्त्री मगर कान्छी र महिला सदस्य समेत हुन् । मन्त्रिपरिषद्बाट मगर, कृषि राज्यमन्त्री रामकुमारी चौधरी हटाइएका थिए । मन्त्री मगर र भूमीसुधार मन्त्री पद्मा अर्यालका कमजोर कार्यसम्पादन भए पनि तिनलाई हटाउँदा महिला सदस्य शून्य हुन सक्थ्यो ।