कपिलवस्तु, ३ मंसिर । रक्सी सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले प्रहरी हवल्दार बलबहादुर जिसीलाई निलम्बन गरेको छ ।
तौलिहवा पुरानो हाटबजारकी रेष्टुरेन्ट संचालक महिलामाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा जिसीलाई आईतबारदेखि निलम्बनमा राखिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।
हवल्दार जिसीलाई निलम्बन गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।
रक्सीले मातिएका प्रहरी हवल्दार जिसीले आफूमाथि हापात गरेको र संवेदनशील अंगमा प्रहार गरी कुटपिट गरेको रेष्टुरेन्ट संचालक महिलाको आरोप छ ।
प्रहरी पोशाकमै बुधबार साँझ रेष्टुरेन्ट छिरेका हवल्दार जिसीले रेष्टुरेन्टका कुर्सी, टेबलसमेत टोडफोड गरेका थिए ।
रेष्टुरेन्ट संचालक महिलाले हार-गुहार गरेपछि हवल्दार जिसी त्यहाँबाट भागे । उनी भाग्दा उनले बोकेको प्रहरीको संचार सेट रेष्टुरेन्टमै छुटेको थियो ।
घटनाबारे स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई फोन गरी जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले संचार सेट बुझेर लगेको स्थानीयले बताए ।
पीडित महिलाले आफूमाथि दुर्व्यवहार गर्ने प्रहरी हवल्दार जिसीलाई कडा कारवाही हुनुपर्ने माग गरेकी छिन् ।











प्रतिक्रिया