हेटाैँडा, १ मंसिर । मकवानपुर जिल्लाकाे भीमफेदी कारागारबाट शनिबार राति एक कैदी फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए ।
कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
कारागारबाट कैदी फरार भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
पर्खालको भागमा सानो खाली ठाउँ रहेको र त्यहाँ तारले बेरिएको थियो । त्यहाँको तार तानिएकाले त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको एसपी सिंहले बताए ।
धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत अलर्ट गरिएको प्रमुख जेलर खनालले बताए ।
कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे कैदी फरार भएको थाहा पाएको थियो । त्यसपछि नै तत्काल खोजी कार्य अघि बढाइएको थियाे ।
जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिएका धामी पाँच वर्षदेखि सजाय भोगिरहेका थिए ।