आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

आईजी खनालकै कार्यकालमा ठूला अभियुक्त जेलतिर

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १०:३८

काठमाडौं, ३० कात्तिक । व्यक्ति हत्या, विस्फोटलगायतका फौजदारी कसुरमा जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाउने ‘बोल्ड’ आदेश दिएपछि पूर्वमन्त्री महोम्मद अफताब आलम प्रकरणको एउटा अध्याय सकिएको छ ।

२७ चैत, ०६४ मा रौतहटमा भएको विस्फोट, व्यक्ति हत्यालगायतका अभियोगमा आलमलाई पूर्पक्ष भएको हो । उनलाई नख्खु कारागार चलान गरिएको छ ।

आलम प्रकरणमा जोडिएका सबैलाई कुनै न कुनै प्रकारको कारबाही हुन सक्ने नजिर स्थापित भएको छ । यो जोखिम र चुनौतिपूर्ण अनुसन्धान गर्न प्रहरीलाई फलामको च्यूरा चपाउनुसरह रहेको थियो । त्यहाँमाथि नेपालका हाईप्रोफाइल वकिलले मुद्दा हेर्दा आदेश कस्तो आउला र त्यसको प्रभाव कस्तो पर्ला भन्ने विषयमा सबैभन्दा बढी चिन्तित थिए नेपाल प्रहरी प्रमुख (आईजी) सर्वेन्द्र खनाल ।

आफू र आफ्नो टिमको कामले एउटा नतिजामा पु¥याएको आलम प्रकरणबारे उनको छोटो टिप्पणी थियो,‘पूर्पक्ष भएको छ । प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलको कार्यालयलाई दिएको राय र अदालतले दिएको आदेश प्रतिकूल भएन, राज्यको नीतिअनुकुल छन् ।’

कतिपयले आलम प्रकरणलाई राजनीतिक रंग दिने प्रयास गरेका थिए । त्यसमध्येका एक हुन् घटनाताका गृहमन्त्री रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला । उनले राजनीतिक पूर्वाग्रहका आधारमा आलमलाई फसाईको बताएका थिए । तर अदालतले प्रमाण, बयान र पीडितबारे तयार भएको अनुसन्धानका विविध आयामलाई नजिर बनायो ।

आईजी खनालका लागि यो मात्र चुनौतिको मुद्दा थिएन । बलात्कार प्रयासको अभियोग लागेका बाहलवाला सभामुख, सत्तारुढ पार्टीकै प्रभावमा रहेका कृष्णबहादुर महरा पक्राउ गर्नु ठूलो चुनौति थियो । भित्र उनलाई पक्राउ गर्ने कि नगर्ने भन्ने विषयको अन्योल र बाहिर पक्राउ गर्नैपर्ने भन्ने एकखालको दबाब थियो । यस विषयमा पनि उनले आफ्ना टिमलाई पर्याप्त सबुत, प्रमाण संकलन गर्न लगाएर त्यसको नजिरका आधारमा नै पक्राउको निर्देशन दिए । र, जिल्ला अदालतले महरा प्रकरणमा पनि प्रहरीले तयार पारेको प्रमाणकै आधारमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।

यी ‘हाईप्रोफाइल’ व्यक्तिका अपराध श्रृङ्खलाका साक्षी अन्य आईजी भए । तर, खनाल आफू हुन चाहेनन्, परेका उजुरी, सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयनमा ल्याए । उनको कार्यकालमा भएका यी दुईबाहेक निक्कै चुनौतिपूर्ण काम पनि छन् । तर, राज्यसँग पक्ष र प्रतिपक्षको हिसाबले जोडिने यी दुई व्यक्तिलाई जेलतिर पठाउने कामको थालनी गर्नु कम चुनौति थिएन, नेपालको राजनीतिक र व्यवस्थापकीय परिप्रेक्षको ‘ओपनसेक्रेट’ सत्य हो ।

एक जना सरकारी वकिल भन्छन्,‘अनुसन्धानका सबै काम प्रहरीले गर्छ, प्रमाण जुटाएर कस्तो सजाय दिने भन्ने प्रमाण अनुसन्धान र बयानका आधारमा राय दिन्छ । हामी त्यहि आधारमा अदालतमा पुग्छौं । अदालतले पनि त्यहि र विपक्षको प्रमाणलाई तौलिएर आदेश दिने हो । काम प्रहरीकै ज्यादा हुन्छ ।’

बैंकिङ क्षेत्र होस् वा म्याच फिक्सिङ, हुन्डी कारोबारी होस् या एटीएम ह्याकर । यी सबै प्रकरणमा प्रहरीको मिहिन र बलियो अनुसन्धानको नेतृत्व आईजी खनाल र उनको टिमले गरेको थियो । कुनै पनि अभियुक्तले उन्मुक्ति नपाउने गरी अनुसन्धान र प्रमाण बलियो बनाउन उनको विभागीय निर्देशनले काम गरेको थियो । त्यसैले हरेक ठूला र जटिल मुद्दामा आईजी खनालले माथाहतमा दिने निर्देशन र ढाडसले प्रहरी अधिकारीहरूलाई काम गर्न उर्जा मिल्यो ।

एक एसपी भन्छन्,‘कुनै पनि प्रकारको दबाब हुँदैन, काम गर्नका लागि आईजी साबले प्रत्यक्ष र परोक्ष रुपमा प्रमाणलगायत संकलन, अनुसन्धान र संरक्षण गर्नका निम्ति सँधै सहयोग गर्नुभयो, दबाब दिनु भएन ।’

प्रहरी अधिकृत भएदेखि नै उनका काम प्रभावकारी थिए । जुन तहमा बसेर जिम्मेवारी लिएका थिए प्रभावकारी काम गरेका कारण नै उनको चर्चा चुलिएको थियो । सबैभन्दा धेरै र प्रभावकारी कामचाहिँ उनी महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा गरेका थिए । अहिले प्रहरीकै प्रमुख हुँदा पनि महाशाखाको साख गिरेको छैन, प्रभावकारी काम भइरहेको छ । त्यो लयमा उनले प्रहरी संगठनलाई चुनौति सहँदै चुस्त राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित