शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

यौन दुर्व्यवहारको अभियोग लागेका कतार च्यारिटीका कन्ट्री डाइरेक्टरलाई भीषा थप्दै परिषद्

दैनिक नेपाल २०७६ कार्तिक २८ गते ७:२२

काठमाडौं, २८ कात्तिक । ‘कतार च्यारिटी’ नामक आईएनजिओका कन्ट्री डाइरेक्टर मौले अब्देल अजितले गैरसरकारी संस्था चलाउने महिला र तीनका महिला कर्मचारीहरूलाई यौन दुर्व्यवहार गरेको घटना बाहिर आएको छ ।

अजितविरुद्ध समाजक कल्याण परिषदको कार्यालय पुल्चोकमा उजुरी समेत परेको स्रोतले जनाएको छ ।

अजितका विरुद्ध परेको उजुरीमाथि परिषदले कतार च्यारिटीका कर्मचारीसँग सोधपुछ र अनुसन्धान गरेको छ । तर, अजितलाई के कस्तो कारबाही भएको हो परिषदले जानकारी दिन मानेको छैन ।

स्रोतका अनुसार अजितले काठमाडौंमा बालबच्चासम्बन्धी काम गर्दै आएको गैरसरकारी संस्था चलाउँदै आएकी एकजना महिलासँग यौन दुर्व्यवहार गरेको अभियोगमा परिषदमा उजुरी परेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कतार च्यारिटीका कन्ट्री डाइरेक्टर अजितले ती महिलासँग यौनसम्पर्कको लागि प्रस्ताव गरेको उजुरीमा उल्लेख छ । ‘कतार च्यारिटीका कन्ट्री डाइरेक्टर अजितजीले एउटा गैरसरकारसंस्थाकी सञ्चालिका महिलासँग यौन दुर्व्यवहार गरेको अभियोगमा उजुरी परेको छ’, परिषद स्रोतले भन्यो, ‘उजुरी परेपछि केही दिन अगाडि कतार च्यारिटीका एकजना कर्मचारीलाई बोलाएर सोधपुछ गरेका छौँ ।’

स्रोतका अनुसार ती महिलालाई अजितले गैरसरकारी संस्था चलाउन रकम दिने र त्यसका लागि आफूलाई यौनसम्पर्क गर्न दिनुपर्ने अभियोग ती महिलाले लगाएकी छिन् । गोपनीयताका कारण ती महिलाको परिचय र संस्थाको नाम उल्लेख गरिएको छैन ।

हाइप्रोफाइल व्यक्तिहरू यौनकाण्डमा परेर थुनामा रहेका बेला आईएनजिओका कन्ट्री डाइरेक्टरविरुद्ध पनि यौन दुर्व्यवहारको काण्ड बाहिर आएको छ ।

हुन त अजित नेपालमा अबैध रुपमा बस्दै आएका छन् । अबैध रुपमा बस्दा पनि समाज कल्याण परिषद र अध्यागमन विभागले कारबाही गरेको छैन । परिषदलाई यो कुराको जानकारी छ ।

परिषदले अजितलाई कारबाही गर्नुको साटो पुनः भिषाका लागि प्रक्रिया अगाडि बढाएको छ । अबै रुपमा बसेको विदेशी नागरिकलाई कारबाही गर्नुको साटो भिषा थपेर किन राख्न खोजिएको रहस्य बनेको छ ।

नेपालमा अबैध रुपमा बसेर तलब, भत्ता लिएका अजितले कागजपत्र मिलाएर पुनः गैरपर्यटकीय भिसा लिने प्रक्रिया अगाडि बढाएका छन् । परिषदले अजित अबैधानिक रुपमा बसेको विषयमा पनि कतार च्यारिटीलाई पत्र काटेको थियो ।

यसअघि अजित नेपालमा १८ महिना बसेका छन् । १८ महिनामा उनी सात महिना पर्यटक भिषामा बसेको खुलेको थियो ।

अजित सात महिना पर्यटक भिषामा बसेर कतार च्यारिटीको कन्ट्री डाइरेक्टरका रुपमा तलब, भत्ता लिएका हुन् । पर्यटकको भिषामा बसेर नेपालमा काम गर्न पाइँदैन ।

पर्यटकको भिषामा अजितले सात महिनाको तलब, भत्ता बुझेको तथ्य कतार च्यारिटीको अडिट रिपोर्टमा उल्लेख छ । मौले अब्देल अजित २१ महिना गैह्र पर्यटकीय भिषामा बसेको रेकर्डमा देखिएको छ ।

नेपालमा बसेर काम गर्नका लागि दस्तुर तिरेर बस्न पाइन्छ । तर, उनले नेपालको कानूनलाई लत्याउँदै पर्यटकको भिषामा बसेर आफूलाई नेपालको कानूनले छुँदैन भन्ने प्रमाणित गर्न खोजेका छन् ।

समाज कल्याण परिषद्का प्रवक्ता शिवकुमार बस्नेतले कन्ट्री निर्देशकको भिषा प्रक्रियाका विषयमा कतार च्यारिटीलाई पत्र पठाएर जवाफ माग गरिएको जानकारी दिएका थिए ।

अजितले गलत रुपमा नेपालमा बसेको ठहर भएमा न्यूनतम पचास हजार नगददेखि पाँच वर्षसम्मको जेल सजाय हुने कानूनी व्यवस्था छ ।

कतार सरकारले कतार च्यारिटीमार्फट वार्षिक १० देखि १२ करोडसम्म पठाएर नेपाल र नेपालीहरूको विकासमा खर्च गर्दै आएको छ ।

कतार च्यारिटीले सुनसरी, सर्लाही, रौतहट, काठमाडौं, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा स्थानीय विभिन्न गैरसरकारी संस्थामार्फत काम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित