बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

आलम प्रकरण : साउथ फिल्मभन्दा कठोर कथा

दैनिक नेपाल २०७६ कार्तिक २७ गते १२:५५

-विनोद ढकाल

काठमाडौं, २७ कात्तिक । रौतहटको राजापुर विस्फोट र व्यक्ति हत्याको विषयमा पूर्वमन्त्री महोम्मद अफताब आलमसहित ११ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने कि फरक आदेश आउला भन्ने पर्खाइ सम्भवतः आज बेलुका वा भोलीसम्ममा समाप्त हुनेछ ।

जिल्ला अदालत रौतहटले एउटा आदेश जारी गर्नेछ । आदेश आउनुअघिचाहिँ उक्त प्रकरणबारे आएका विवरण र रिपोर्ट दक्षिण (साउथ) भारतीय फिल्मका असम्भवप्रायः लाग्ने कठोर कथा भन्दा कम छैन ।

बुधबार सतहमा आएका विवरण र पीडितप्रति गरिएको व्यवाहार र उनले दिएको बयानलाई यसको एउटा प्रमाणका रुपमा व्याख्या गर्न सकिन्छ । अर्कोचाहिँ आलमको पक्षमा वकालत गर्नका लागि हिँडेका नेपाल बार एसोशीएसनका पूर्व अध्यक्षहरू, महासचिवहरू र पूर्वमहान्यायाधीवक्ताको गैरजिम्मेवारपूर्ण जवाफलाई राख्न सकिन्छ ।

किटानी जाहेरी दिएका पीडित गौरीशंकर चमारले आलमका व्यक्तिले अपहरण शैलीमा परिवारका सदस्य समेतलाई धम्की दिएर बयान फेर्नका लागि भनेका थिए । प्रलोभन पनि देखाएका थिए । उनलाई भारतबाट नै उठाइएको थियो । नेपाली सीमामा छाडियो । उनी मंगलबार दिउँसो त्रसित मुद्रामा अदालतमा देखिए । डरका कारण घर फर्किएका छैनन् । उनले भनेका छन्,‘उनीहरुले लेखेको कागजमा सही गराउन लगाइयो, उनीहरुका वकिलले तयार पारेको कागजमा सही गराइयो ।’

यति मात्र होइन, मारिएका ओसी अख्तर विदेशमा रहेको भनी उनकी पत्नी अमना खातुनलाई बयान दिन लगाइयो । जबकि, उनका बुवा र भाइलगायतले उनको हत्या भएको र मृत्युदर्ताको प्रमाणपत्र आफैंले लिएको मिडियामा बताइरहेका छन् ।

‘यो डरलाग्दो यथार्थ हो । यतिसम्म शक्ति र पैसाको प्रयोग गरिएको छ’, उच्च स्रोतले भन्यो,‘पैसाका लागि वकिलहरुले पनि नैतिक पाठ विर्सिए, आलमलाई जोगाउनका निम्ति कतिसम्मको खेल भयो ?’

हाइप्रोफाइल वकिलसहित ३३ जना आलमका पक्षमा बहस गरिरहेका छन् । जसको प्रोफाइलका कारण जिल्ला न्यायाधीश दबाबमा आउन सक्ने अनुमान पनि गरिएको छ । यो तर्कमा बल पुग्नेगरी अधिवक्ता ओमप्रकाश अर्यालले भनेका छन्,‘ विशुद्ध व्यवसाय गर्ने कानुन व्यवसायीको विषयमा धेरै प्रश्न गर्न सकिँदैन । तर, म अगुवा हुँ, मैले यो पेसाको मर्यादा राख्ने हो, सामाजिक र राजनीतिक न्यायको वकालत गर्ने हो भन्ने कानुन व्यवसायीका आफ्ना सीमा हुन्छन् ।’

आलमविरुद्ध बारले नै छानबिन समिति गठन गरेको थियो । त्यसको नेतृत्व गरेका नै आलमको पक्षमा उभिनु गलत नै हो । अर्याल अगाडि भन्छन्,‘सार्वजनिक रूपमा मर्यादाका कुरा गर्ने र इजलासमा पुगेर जघन्य अपराधको आरोप लागेका व्यक्तिको पक्षमा वकालत गर्नु अशोभनीय हो । त्यो विश्वासमाथिको बेइमानी पनि हो । मोहम्मद अफ्ताब आलमको विषयमा बार आफैं पनि एउटा पक्ष हो ।’

त्यसो त आलमका पक्षमा उभिएका पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठको एउटा अन्तरवार्तालाई विश्लेषण गर्ने हो भने, व्यावसायीक कुरा मात्र गर्न भनेका छन् । उनले वकिलको नैतिक जिम्मेवारी नहुने भावमा उत्तर दिएका छन् ।

उनले एक ठाउँ भनेका छन्,‘ सामाजिक प्रतिष्ठा छाडिदिनुस् न, मान्छेको व्यवसायको कुरा गर्नूस् । तपाईं सबै कुरा सामाजिक प्रतिष्ठासँग जोड्नुहुन्छ ? प्रतिष्ठा भएको मान्छेले व्यवसाय गर्छ कि गर्दैन ? सबै कुरा यसरी नजोड्नुस् । व्यावसायिक रूपले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर हामी आफैं निर्णय गर्छौँ ।’

बयान फेर्नका लागि पीडितलाई नै ‘होस्टाइल’ गर्ने आलमको पहुँच र प्रयोगले असम्भव जस्तो देखिने दक्षिण भारतीय फिल्मका कथा र थ्रिलर सिनभन्दा कठोर छ, यो प्रकरण । उजुरी दिने पीडितलाई गोली हानेर मारिएको एउटा चित्रमाथि बहस हुँदाहुँदै बयान दिने सीमापारिका पीडितको घरै घेरा हाल्ने, अपहरण शैलीमा बयान फेर्न दबाब दिने तथ्यलाई अदालतले बुझ्ला या नबुझ्ला भन्ने संकोच पनि कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित