बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

क्यासिनो ‘किङ’ सिंहको दादागिरी, सूचना नै नदिई घर भत्काइयो

दैनिक नेपाल २०७६ कार्तिक २७ गते ९:३४

काठमाडौं, २७ कात्तिक । दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिसँग टाँसिएको रेस्टुरेन्ट इन्सोमेनिया रहेको घर कुनै पनि सूचना नदिई भत्काउन थालिएको छ ।

घरका मालिक क्यासिनो किङ सुरेन्द्रबहादुर सिंहले कानुनी प्रक्रियामा नगई घर भत्काउँदा क्लव स्थानान्तरण गर्ने मौका समेत मिलेन । दशौं बर्षदेखि उक्त घरमा इन्सोमेनिया रेस्टुरेन्ट सञ्चालनमा थियो ।

क्लव सञ्चालनताका घरधनी सन्तोष शाहसँग सम्झौता गरी रेस्टुरेन्ट सञ्चालन गरिएको थियो । तर हालै मात्र सिंहले उक्त घर लिएको र पूर्वसूचनाबिना नै भत्काउँदा त्यसमा रहेका कतिपय व्यावसायमा धक्का पुगेको छ । ‘कुनै औपचारिक जानकारी नै नदिई घर भत्काइयो, रेस्टुरेन्टका कतिपय सामान पनि हराएका छन्’, इन्सोमेनिया सञ्चालक रमेश राईले भने,‘भत्काउने क्रममा रेस्टुरेन्टका सामान पनि तोडफोड गरिए ।’

कुनै पनि घरमा रहेका व्यावसायीक प्रतिष्ठान हटाउनका ३५ दिने सूचना दिनुपर्ने कानुनी प्रावधान छ । तर, सिंहले त्यसो गरेनन् ।

सिंह तिनै व्यक्ति हुन् जसले तीन बर्ष रोयल क्यासिनो चलाएर अकुत सम्पत्ति आर्जन गरी राज्यलाई कर तिरेका छैनन् भने होटल याक एन्ड यतिलाई पनि भाडा तिरेका थिएनन् । अदालतको ‘स्टे अर्डर’का आधारमा नै क्यासिनो चलाइरहेका सिंहले गत बर्षमात्र उक्त जग्गा खरिद गरेका हुन् । ४० आना जग्गा र घर उनले ६० करोडमा खरिद गरेका थिए । जसको स्रोत समेत नखुलेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित