बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बोलिभियाका पूर्वराष्ट्रपति मेक्सिको शरणमा

दैनिक नेपाल २०७६ कार्तिक २७ गते ८:१३

लण्डन, २७ कात्तिक । बोलिभियाका पूर्व राष्ट्रपति मेक्सिको पुगेका छन् । राष्ट्रपतिबाट राजीनामा दिएको तेस्रो दिनमै एभो मोरालेस राजनीतिक शरण लिने मेक्सिको पुगेका हुन् ।

मेक्सिको सिटी पुगेका मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएकाले राजनीतिक शरण लिन बाध्य भएको बताए ।

गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै लगातार प्रदर्शन भएको तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधलीको स्पष्ट प्रमाण भेटिएको भनेपछि मोरालेसले आइतबार राजीनामा दिएका थिए ।

मोरालेसलाई लिएर आएको मेक्सिकन जेट मेक्सिको सिटीमा रहेको विमानस्थलमा अवतरण भयो, त्यसपछि मोरालेसले त्यहाँ संक्षिप्त पत्रकार सम्मेलन गरेका थिए । आफूलाई पद छोड्न बाध्य पारिएको उनले बताए ।

तर आफ्नो राजीनामा देशका थप रक्तपातको अवस्था नआओस् भन्नका लागि रहेको उनले बताए । मोरालेसले मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज आब्राडोरप्रति आफू कृतज्ञ रहेको बताए । उनले आफ्नो जीवन जोगाएको मोरालेसले बताएका छन् ।

गएको अक्टोबर २० मा भएको चुनावबाट मोरालेस पुनः बोलिभियाको राष्ट्रपतिमा निर्वाचिन भएका थिए । तर सो चुनावमा गम्भीर धाँधली भएको भन्दै लगातार प्रदर्शन हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय परिवेक्षकले चुनावमा धाँधली भएका स्पष्ट प्रमाण भेटिएको र सो चुनावको नतिजा रद्द हुनु पर्ने बताएको भोलिपल्ट मोरालेसले राजीनामा दिएका हुन् । यसअघि मोरालेसले अदृष्य शक्तिका कारण आफू राजीनामा दिन बाध्य भएको भन्दै समर्थकलाई त्यसको विरोध गर्न भनेका थिए ।

बोलिभियाका पहिलो आदिबासी राष्ट्रपति मोरालेसलाई देशको सेनाका प्रमुखले सार्वजनिक रुपमै पद छोड्न सुझाव दिएका थिए । मोरालेस कोका किसान हुन् । उनले लामो समय कोकाको खेती गरेका थिए ।

उनी पहिलोपटक सन् २००६ मा राष्ट्रपतिमा जित हाँसिल गरेका थिए । उनले गरिबी विरुद्ध लड्ने तथा बोलिभियाको वित्त अवस्था सुधार गर्ने बताएर जितेका थिए ।

तर चौथोपटक राष्ट्रपति चुनावमा उम्मेदवार बन्नका लागि उनले संवैधानिक व्यवस्था लत्याए । यसरी संवैधानिक व्यवस्था लत्याएर अक्टोबरमा जितेको चुनावमा धाँधली भएको भन्दै विरोध भयो उनीविरुद्ध ।

उनीमाथि सत्ता छोड्न नचाहेर बोलिभियाको प्रजातन्त्रलाई अपमान गरेको आरोप छ । नयाँ चुनाव भएर नयाँ राष्ट्रपति नआउँदासम्म संसदकी उपसभामुखले अन्तरिम राष्ट्रपतिको जिम्मा सम्हाल्ने भएकी छन् । मोरालेससँगै उपराष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रिएना साल्भाटिएराले समेत राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित