कठमाडाैं, २७ कात्तिक । सूचना प्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका ब्यवसायी कुवरले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलो पटक अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कुँवरले ७७ वटै जिल्लामा क्यान महासंघका शाखा पुर्याई मुलुकमा सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ सूचना प्रविधि व्यवसायीको छाता संस्थाको रुपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफू निर्वाचित भएपछि केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने बताए ।
उनले नेपालको सबैभन्दा ठूलो सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना बनाएको बताए ।
विसं. २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नै अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएको समेत बताए ।
उनले विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको, समितिका सबैभन्दा पूरानो र हाल बरिष्ठ उपाध्यक्ष भएकोले पनि आफ्नो उम्मेदबारी स्वाभाविक रहेको कुँवरले बताए ।
सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरु यसमा आवद्ध छन् । मुलुकले संघीय संरचना अनुसरण गरे अनुरुप क्यान फेडेरेशनले पनि आफूलाई त्यही स्वरुपमा ढाल्दै लगेको छ ।
राष्ट्रिय सूचना प्रविधि नीति तथा कार्यक्रममा सरकारलाई परामर्श दिने तथा सहकार्य गर्ने, मुलुकमा यस क्षेत्रका लागि व्यावसायिक वातावरण निर्माणका लागि प्रयासरत रहने, व्यवसायीको हकहीतका लागि निरन्तर काम गर्ने तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहकार्य गर्ने जस्ता कार्यमार्फत क्यानले आफूलाई यस क्षेत्रको सशक्त संस्थाको रुपमा उभ्याउन सफल भएको छ ।
हाले क्यानलाई त्यसै दिशामा अझ प्रभावकारी ढंगले अगाडि बढाउने आफ्नो योजना रहेको पनि कुँवरले बताए ।
आगामी मंसिर ७ गते क्यान महासंघको १३ औं कार्यसमितिको निर्वाचन काठमाडाैंमा हुँदैछ । क्यान फेडरेसनको निर्बाचनले ४३ सदस्यीय समितिको चयन गर्नेछ ।











प्रतिक्रिया