बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

५ खाली एसएसपी पदमा २० जनाको दौड

दैनिक नेपाल २०७६ कार्तिक २६ गते ९:१९

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीको ५ वटा खाली प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को दौडमा २० जना प्रहरी उपरिक्षक (एसपी) लागि परेका छन् ।

नेपाल प्रहरीमा प्राबधिक एक सहित पाँच प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी) को दरबन्दी खाली छ । एसएसपीको एक पद भने बिगत ४ महिनादेखि खाली थियो ।

एसएसपी शरद खत्रीले साउनमा अवकाश पाएसँगै उक्त पद खाली भएको थियो । त्यस्तै तीन महिना अगाडि एसएसपी बिश्वराज पोखरेल डिआईजीमा बढुवा भएपछि दुई पद रिक्त भएको थियो । गत महिना थपिएको थप दुई दरबन्दी र प्राबिधिक तर्फको एक गरी पाँच पद रिक्त छन् ।

दुई पद रिक्त भएको तीन महिना पुरा भईसक्दा पनि नेपाल प्रहरीले बढुवाको फायल अगाडि बढाएको छैन । मंसिर महिनामा समेत एसएसपी दिलिप बस्नेत र वीरेन्द्र श्रेष्ठले अनिवार्य अवकाश पाउँने छन् । बस्नेत र श्रेष्ठ आईजीपी सर्वेन्द्र खनालका व्याची हुन् ।

उप निर्वाचनको आचारसंहिता लागु भएका कारण १४ मंसिरसम्म बढुवाको फायल अगाडि बढ्ने सम्भावना कम रहेको बताइएको छ ।

सर्वोच्च अदालतले केही महिना अगाडि रिक्त पदमा तीन महिनाभित्र पदपूर्ती गर्न नेपाल सरकार र नेपाल प्रहरीलाई परमादेश पनि दिएको थियो । बढुवामा दरबन्दी कम र प्रत्यासी बढी भएपछि बढुवामा सकस भएको हो ।

एसएसपी बढुवामा प्रमुख दाबेदारका रुपमा अशोक सिंह, केदार ढकाल, दुर्गा सिंह चन्द,  कुबेर कडायत, भरतबहादुर बोहरा, रवीन्द्र केसी, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, जनक भट्टराई, विकासराज खनाल, हृदय थापा, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंहलगायत दौडमा छन् ।

प्रतिक्रिया
सम्बन्धित