काठमाडाैं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ कमिटीका सदस्य रामबाबु बैठाले प्रहरीमा जागिर लगाइदिन्छु भनेर आफूसँग पाँच लाख ठगी गरेको भन्दै रौतहटका प्रदीपकुमार साह कानूनले प्रहरीमा उजुरी दिएका छन् ।
प्रदीपले बैठालाई दिने भन्दै सुनिल चौरासियाको आइएमी बैंकको खाताबाट २०७२ साल माघ १० गते वीरगञ्जबाट काठमाडौं पैसा पठाएको उजुरीमा उल्लेख गरेका छन् ।
प्रहरीले पर्सा जिल्लाको कालिमाइ-३ घर भएका चौरासियालाई पक्राउ गरेको छ । चौरासियाले भने त्यो रकम बैठालाई बुझाएको प्रहरीमा बयान दिएका छन् ।
बैठाले आफूलाई पनि यसरी नै ठगेको चौरासियाको दाबी छ । उनको बयानपछि भने बैठाको खोजी भइरहेको प्रहरीले बताएको छ । बैठा भने फरार छन् ।
जाहेरीमा लेखिएअनुसार, बैठाले प्रदीपसँग प्रहरीको असईमा जागिर लगाइदिन्छु भन्दै पैसा मागेका थिए ।
बैठाले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नाम लिँदै सर्वसाधारणलाई जागिर लगाइदिने प्रलोभन दिने र पैसा उठाउने गरेको भेटिएको प्रहरी स्रोतको भनाइ छ ।