बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

प्रदेश २ मा फेरि लफडा, मुख्यमन्त्री र मन्त्रीहरूकाे भ्रष्टाचारकाे भण्डाफाेर

दैनिक नेपाल २०७६ कार्तिक २५ गते ८:०७

काठमाडौं, २५ कात्तिक । प्रदेश २ मा सरकार र केन्द्र सरकारबीच विवाद बढेको छ ।

६ वटा प्रदेशको नेतृत्व गरिरहेको नेकपा र मधेश केन्द्रित दुई दलले नेतृत्व गरिरहेको प्रदेश २ सरकारबीच विवाद चल्दै आएको छ ।

प्रदेशका २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय प्रधानमन्त्रीले प्रदेश २ लाई छुट्टै देशको रुपमा हेरिरहेको भन्दै दिएको अभिव्यक्तिलाई लिएर सत्तारूढ नेकपाले प्रदेश २ सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।

प्रदेश २ को सत्तारूढ समेत रहेको नेकपाको प्रदेश कमिटीले भ्रष्टाचार, अनियमितता र कमिसनखोरका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्न लागेको नेकपाले जनाएको छ ।

नेकपा प्रदेश दुइका संयोजक सत्यनारायण मण्डलले भने, ‘प्रदेशमा व्यापक भ्रष्टाचार बढ्यो । प्रदेश सरकारका मन्त्रीहरू झण्डावाल गाडीमा चढेर जनताको काम गर्ने बहानामा भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन, उनीहरूको भण्डाफोर गर्ने बेला आएको छ । जनतालाई थाहा दिने बेला आएको छ .’

प्रदेश २ मा मुख्यमन्त्रीसहित ७ जना पूर्ण र ६ जना राज्यमन्त्री छन् । अधिकांश मन्त्रालयमा आर्थिक अनियमितता, भ्रष्टाचार बढेको गुनासो आएपछि बाध्यभएर भण्डाफोर अभियान सञ्चालन गर्नुपरेको र सुनुवाइ नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनसमेत कार्यक्रम तय भएको नेकपा प्रदेश कमिटीले जानकारी दिएको छ ।

नेकपाले सबैभन्दा बढी भ्रष्टाचार भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमा भएको छ जनाउदै भौतिक पूर्वाधार विकास मन्त्रालयमा करोडौ भ्रष्टाचार भएको ठहर गरेको छ । कमिसन आउन ग्यारेन्टी नभएसम्म उपभोक्ता समिति नबन्ने । काम पनि नहुने, दोहोरो, तेहेरो बिल बनाएर भ्रष्टाचार गर्ने जस्ता प्रबृतिको भण्डाफोर गर्ने मण्डलले बताए ।

प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालनमा ल्याएको छ । यी सबै अभियानको आर्थिक गतिविधि, हरहिसाब पारदर्शी नभएको र प्रदेशसभामा कुरा उठाउँदा कुनै सुनुवाइ नभएको मण्डलको गुनासो छ ।

प्रदेशको हिउँदे अधिवेशन कात्तिक २५ गतेबाट प्रारम्भ हुँदैछ । अब बस्ने प्रदेशसभाको बैठकमा भ्रष्टाचार, अनियमितताका कुरा उठाइने र यसलाई जनताको बीचमा पनि लैजाने मण्डलको भनाइ छ ।

राजपाका महासचिव मनीषकुमार सुमनले सुशासनको कुरा उठाउनु जायज भए पनि ठूला भ्रष्टाचारमा नेकपा नै संलग्न रहेको बताएका छन् । राजपाले संघीय सरकारको भ्रष्टाचारमा नेकपा मुछिएको र त्यो भ्रष्टाचारको छानबिन हनुपर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित