बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

उपनिर्वाचनमा नेकपाद्वारा विद्यालाई न्याय, इन्दुमाथि किन अन्याय ?

दैनिक नेपाल २०७६ कार्तिक २३ गते ९:५४

काठमाडौं, २३ कात्तिक । १४ मंसिरमा हुने उप निर्वाचनमा नेकपाले कास्की–२ मा विद्या भट्टराईलाई टिकट दिएर न्याय गरेको छ । उनी चुनावी प्रचारमा जुटेकी छन् ।

विभिन्न नामहरु सिफारिस भए पनि सचिवालय बैठकबाट विद्यालाई नै उम्मेदवार बनाउने निर्णय भएपछि कास्कीमा चुनावी सरगर्मी बलियो बनेको छ ।

यतिमात्र होइन, नेकपाले उर्दी नै जारी गरी विद्यालाई जिताउनका निम्ति पार्टीका सबै कार्यकर्ता सक्रिय हुन निर्देशन दिएको छ । अन्य ठाउँमा पनि विभिन्न प्रकारले नयाँ अनुहारलाई मौका दिएको छ ।

दिवंगत मन्त्री रवीन्द्र अधिकारीको क्षेत्र र उनकी पत्नी भएका कारण नै विद्याले टिकट पाएकी हुन् । एकातिर विद्यालाई न्याय गरेको नेकपाले अर्कातिर भने इन्दु सुब्बामाथि अन्याय गरेको छ ।

इन्दु, धरान उपमहानगरपालिकाका दिवंगत मेयर तारा सुब्बाकी पत्नी हुन् । नेकपाले उम्मेदवार नबनाएर अन्याय गरेको चर्चा मात्र चलेको छैन, इन्दुले धरानको मेयरको उप चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिएको चर्चाले नेकपालाई धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।

नेकपाले धरानको मेयरका लागि जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेदवार बनाएर चुनावी प्रचार गरिरहेको छ । ‘उता विद्यालाई टिकट दिँदा यता इन्दुको नामसम्म सिफारिस गरिएन । नेकपाले राजनीतिक पूर्वाग्रह राखेजस्तो देखिन्छ’, स्थानीय भन्छन्,‘तर यो निर्णयले पार्टीलाई नोक्सान समेत हुन सक्छ ।’

हङकङमा रहेकी इन्दु शनिबार काठमाडौं उत्रिँदैछिन् भने आइतबार धरान पुग्नेछिन् ।

प्रतिक्रिया
सम्बन्धित