बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

आईजी खनाल : विदेशमा लुकेका अपराधीको कठालोसम्म पुगेको कठोर हात

मानव बेचबिखन नियन्त्रण व्युरोले २६० जनाको उद्दार गरिसकेको छ

दैनिक नेपाल २०७६ कार्तिक २२ गते १६:४९

काठमाडौं, २२ कात्तिक । प्रहरीका लागि एउटा भनाई छ– पहिला ठोक त्यसपछि प्रश्न सोध ! यो विश्वव्यापी भनाई अपराधीविरुद्ध प्रहरीको मनोबल उच्च बनाउनका लागि प्रचलित गरिएको थियो । नेपाल प्रहरीमा कतिपय विषयलाई यसरी जोडेर हेर्दा आलोचना हुने गरेको छ । तर, अपराधी र अभियुक्तको सात्तोचाहिँ उडेकै छ ।

संगठनको प्रभावकारी काम र अपराध न्युनिकरणका लागि नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालको शिल्प र शैलीले अहिले तिव्रता पाएको छ । जसलाई आम मानिसले भन्न थालेका छन्– गुड पुलिसिङ । त्यसैले सानो भन्दा सानो अन्यायमा पनि न्याय पाइन्छ भन्दै मानिस प्रहरीकहाँ उजुरीसहित पुग्ने क्रम बढेको छ ।

अझ केही हाईप्रोफाइल मानिसलाई पक्राउ गरी धमाधम कारबाहीका लागि कानुनको कठघरामा उभ्याउने कामले प्रहरीको साख अझ माथि उठाउन सफल छन्, खनाल ।

यति मात्र होइन, नेपाल प्रहरीले हालसम्म प्रयत्न नगरेका कतिपय अपराध र त्यसका फरार अभियुक्तलाई बर्षौंपछि पनि कानुनको कठघरामा उभ्याउन विभिन्न मुलुकका प्रहरीसँगको समन्वयमा खनालको तिव्रता परिणामले नै देखाएको छ । त्यसैले ‘विदेशमा बसेका अपराधीको कठालोमाथि पुगेको कठोर हात’ भनी खनालबारे धेरथोर चर्चा हुने गरेको छ ।

त्यसको एउटा उदाहरण हो अमेरिकादेखि बलात्कार र हत्याका अभियुक्तलाई नेपाल झिकाउन सक्ने सक्षमता । झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीको बलात्कारपछि हत्या गरी अमेरिका फरार रहेका लिलाराज गौतमलाई पक्राउ गरी नेपाल डिपोर्ट गराउनका निम्ति प्रभावकारी समन्वय खनालको नेतृत्वमा नै भयो ।

२९ असोज, २०५७ राती गौतमसहित मनोज खड्का र सीताराम खड्काले राजवंशीको सामूहिक बलात्कार गरी घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए । मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए । पुनरावेदनमा पनि सफाई पाएका गौतमलगायतलाई १९ भदौ २०६६ मा सर्वोच्च अदालतले भने जन्मकैदको फैसला सुनाएको थियो । गौतम सोही समयमा फरार थिए ।

‘नेपालमा अपराध गर्ने र विभिन्न देशमा भाग्ने व्यक्ति धेरै छन् । इन्टरपोलमा समन्वय गरी घटनाका विषयमा बुझाएपछि अपराधी लुक्ने अवसर नदिने नीति नै हो’, आईजी खनालले दैनिक नेपालसँग भने,‘नेपालमा अपराध गर्ने अनि विदेशमा मोज मस्तीको जीवन बाँच्छु, नेपाल प्रहरीले छुनै सक्तैन भन्ने कुत्सित विचार नपालेकै ठिक हुन्छ । प्रहरीले खोजेर कानुनको दायरामा उभ्याउँछ ।’

अहिले पनि कतिपय मुलुकमा रहेका अपराधीको मिहिन अध्ययन र पक्राउका लागि पहल भइरहेको खनालले बताए । ‘नेपाली जनता जसले अहिलेसम्म न्याय पाएको छैन, पीडकका कारण बारम्बार पीडामा छन् तिनलाई न्याय दिलाउनका लागि कानुनी उपचारका पाटामा प्रहरी मुकदर्शक बन्दैन, बन्न दिन्न’, उनी भन्छन्,‘अभियुक्त, अपराधीले पनि हाईसञ्चो नमाने हुन्छ ।’

हुन त खनालले संगठन प्रमुख हुनु पूर्व नै प्रहरीका काम कस्तो हुनुपर्छ भन्ने विषयमा धेरै नै उदाहरण पस्किसकेका थिए । बैंकिङ क्षेत्रका अपराध, म्याच फिसिङ, अवैध हुन्डि कारोबारी, विद्युत चुहावटका गिरोह, गुन्डागर्दी, अपहरण फिरौति माग्ने जस्ता अपराधमाथि कठोर नै बनेका थिए । जसले उनलाई संगठनको सबैभन्दा उपल्लो ठाउँमा बस्नका लागि स्वतः योग्य बनाएकै थियो, अहिले संगठन प्रमुख भएपछि पनि नयाँ–नयाँ काम गरेर प्रभावकारिता देखाइरहेका छन् ।

प्रविधिको प्रयोगबाट अपराधका श्रृङ्खला बढ्न थालेपछि प्रहरीमा दुई व्युरो अनिवार्य देखेका खनालले । सरकारसँग बारम्बार प्रस्ताव गरी साईबर क्राई व्युरो र मानव बेचबिखन व्युरोलाई चलायमान बनाए । अहिले दैनिकजस्तो साईबर अपराधमा कतिपय पक्राउ परिरहेका छन् । ‘यो व्युरो अझै प्रभावकारी बनाउनका निम्ति के कस्ता आवश्यक चिज र उपकरण चाहिन्छ यसबारेमा पनि अध्ययन गरिरहेको छु’, उनी भन्छन्,‘अहिले साईबर अपराधको ग्राफलाई बढ्न नदिनु, नियन्त्रणमा ल्याउनु छ ।’

त्यसो त एटीएम ह्याकिङ, बैंक र वित्तिय संस्थाबाट रकम चोरी नियन्त्रणका कामको जस पनि खनाल र उनको टिमलाई स्वभाविक रुपमा नै जान्छ ।

वैदेशिक रोजगारका नाममा भएको ठगी नियन्त्रण, त्यसमार्फत हुने अपराधलगायतमा पनि मानव बेचबिखन नियन्त्रण व्युरो प्रभावकारी देखिन थालेको छ । खनाल व्युरोको कामबाट प्रभावित छन् । गरेको प्रयासले सफलताको ग्राफ बढाएर मात्र होइन, पीडित नेपाली युवायुवतीलाई सकुशल नेपाल फर्काउनुलाई प्रहरीको प्रभावकारीताको क्षेत्रफल बढेको ठान्छन् उनी ।

त्यो तथ्यांकले पनि पुष्टि गरेको छ । दुई बर्षको दौरानमा २६० जना पीडितलाई विभिन्न मुलुकबाट उद्दार गरी नेपाल फर्काइएको छ । भारतबाट १८२ महिला, ३३ पुरुष, लिबियाबाट १७ पुरुष, ६ पुरुष इराकबाट नेपालमा प्रहरीले नै उद्दार गरी फर्कायो । यतिमात्र होइन, कुबेतबाट एक महिला, ग्रीसबाट एक पुरुष, केन्याबाट १२ महिला, इन्डोनेशीयाबाट मात्रै ४ पुरुष, २ महिला, मलावीबाट तीन महिलालाई उद्दार गरिएको थियो ।

‘मानब बेचबिखनका काम अनेक हिसाबबाट भइरहेका छन्, विविध तरिका अपनाइएका अपराधका जालो तोड्ने क्रममा प्रहरी सफल नै देखेको छु’, आईजी खनाल भन्छन्,‘जे उद्देश्यका लागि ब्युरो गठन गरिएको थियो उसको प्रभावकारीता त्यहि विषयमा अझ बढाउनका निम्ति गहन कामका लागि निर्देशन पनि दिएको छु ।’

प्रतिक्रिया
सम्बन्धित