बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

निर्मला पन्त अनुसन्धान मेरै कार्यकालमा टुंगो लगाउने प्रयास छ : आईजी खनाल

दैनिक नेपाल २०७६ कार्तिक १९ गते ९:५३

काठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्त बलात्कार र हत्याको छानबिन जारी रहेको बताएका छन् ।

एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा आईजी खनालले अनुसन्धान नरोकिएको, घटनामा आफैंले पनि महत्व दिएका कारण दुई पटक सो स्थानमा पुगेको उल्लेख गरेका छन् ।

नेपाल प्रहरीले विभिन्न ठूला प्रकरणमा सफल अनुसन्धान गरिरहँदा निर्मला पन्त प्रकरणको छानबिनमा समय लागेको बताउँदै आईजी खनालले भने,‘आईजीको मेरो कार्यकालमा नै यो विषयको अनुसन्धान सम्पन्न होस् भन्ने मेरो लक्ष्य छ ।’

यद्यपि प्रहरीको अनुसन्धान जारी रहने र त्यसको परिणाम आउन समय समेत लाग्न सक्ने बताउँदै उनले भने,‘सकभर म सेवा निवृत्त हुनुअघि नै यो प्रकरणको अनुसन्धान टुंगो लागोस् भन्ने मेरो चाहना हो तर प्रहरी संगठनले गरेको अनुसन्धान भएकाले केही समय लागे पनि टुंगोचाहिँ लाग्छ ।’

विभिन्न अभियोगमा ठूला र पदीय जिम्मेवारी सम्हालेका मानिस पनि अनुसन्धानको दायरामा आउनु स्वभाविक भएको बताएका उनले अनुसन्धानमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतले हस्तक्षेप गरेको भनी चलाएको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।

‘बरु सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीबाट सहयोग भएको छ’, उनले भने,‘नत्र प्रहरी संगठनले यसरी तदारुकताका साथ काम गर्ने मोरल कसरी पाउने थियो र ?’

अन्तरवार्ताका दौरान मोटरसाइकल खरिद प्रकरण, आईजीपीका १६ गाडी भन्ने गलत मनसायबाट चलाइएका हल्लाको खण्डन गर्दै उनले भने,‘सबै कुरा कागज, प्रक्रियाबाट भएका छन् । त्यसमा मेरो नियत राख्नुपर्ने कुनै कारण छैन । अनि काममा नआएका गाडि बनाएर काम चलाइएको हो, मैले त्यसलाई बोकेर घर जाने होइन ।’

उनले संगठन भित्र, त्यसबाट लाभ लिन नपाएका कतिपयले गलत हल्ला चलाउँदैमा आफ्नो काम गर्ने स्पिरिट कम नहुने बताउँदै भनेका छन्,‘म यस्ता हल्लाबाट गल्दिन, प्रहरी संगठन प्रमुख भएका नाताले सबै प्रहरी कर्मचारीको मोरल उठ्नेगरी काम गरेको छु, गर्दै जानेछु ।’

आफू संगठनको प्रमुखको जिम्मेवारीमा आएपछि अड्कीएर बसेका प्रहरीको प्रमोशन ८ हजार भन्दा बढी, सरुवा २६ हजार बढी गरिसकेको बताएका उनले ट्राफिक प्रहरीको भत्ता, प्रहरी सिपाहीको सुत्ने खाटलगायतका साना विषयमा पनि काम गरेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित