१ कार्तिक २०८३, आइतबार

ट्वीटरले राजनीतिक प्रचारलाई प्रतिबन्ध लगाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ कात्तिक । सामाजिक सञ्जालले सबै किसिमका राजनीतिक प्रचारलाई प्रतिबन्ध लगाउने भएको छ । विश्वव्यापी रुपमै आफ्नो माध्यममा राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णय भएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दै भनेको छ, ‘यस्ता सामग्रीको पहुँच आर्जित गर्ने विषय हो, किन्ने होइन।’

ट्वीटरका सिइओ ज्याक डोर्सीले ट्वीटमा भनेका छन्, ‘व्यवसायिक प्रयोजनका लागि इन्टरनेटका माध्यमबाट गरिने प्रचार अति शक्तिशाली र प्रभावकारी छ, तर यस्तो खालको शक्ति र प्रभावले राजनीतिमा गम्भीर चुनौति ल्याउँछ ।’

तर सामाजिक सञ्जाल फेसबुकले भने हालै राजनीतिक प्रचार सामग्रीमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा हाल आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि प्रचार अभियानको क्रम छ । ट्वीटरको निर्णयले त्यहाँको राजनीतिक अभियानलाई विभाजित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पार्स्केलले ट्वीटरको निर्णय ट्रम्प र कन्जरभेटिभलाई चुप गर्ने प्रयास रहेको आरोप लगाएका छन् ।

तर डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनको चुनावी अभियानका प्रवक्ता बिल रुसोले प्रजातन्त्रको रक्षाका लागि यो राम्रो निर्णय रहेको बताएका छन् ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो कम्पनीको निर्णयको बचाउ गर्दै राजनीतिक प्रतिबन्ध निजी कम्पनीले लगाउनु उपयुक्त नरहेको बताएका छन् ।

ट्वीटरले राजनीतिक प्रचार सामग्रीमाथि आउँदो नोभेम्बर २२ देखि प्रतिबन्ध लगाउने छ र यस सम्बन्धी थप विवरण नोभेम्बर १५ सम्ममा जारी गर्ने छ ।