६ कार्तिक २०८३, शुक्रबार

दिवंगत रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रमा पत्नीलाई कति सहज ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विश्लेषण

काठमाडौं, ११ कात्तिक । प्रतिनिधि, प्रदेश र स्थानीय तहका रिक्त ठाउँमा उप निर्वाचनको मिति तय भइसकेको छ । ५२ स्थान मध्ये प्रतिनिधि सभाको रिक्त कास्की क्षेत्र नम्बर २ सबैभन्दा चर्चामा रहेको छ ।

उक्त क्षेत्रमा साझा पार्टीले रजनी केसीको उम्मेदवारी घोषणा गरिसकेको छ भने नेकपा कास्की जिल्लाले दिवंगत नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको नाम सर्वसम्मतले सिफारिस गरेको छ, निर्णय हुन बाँकी छ ।

केही दिनमा नै भट्टराईलाई नेकपा सचिवालयको बैठकले आधिकारीक उम्मेदवार घोषणा गर्नेछ । अधिकारीले दुई वटा संविधानसभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचनमा सहज जीत निकालेको उक्त क्षेत्रमा भट्टराईका लागि कस्तो परिणाम आउला भन्ने आँकलन स्वभाविक प्रश् नबनेको छ ।

सरकार गठनको लगभग दुई बर्ष पुगिसकेको अवस्थामा नेकपाको गिर्दो लोकप्रियतामा भट्टराई मतदाता र भावनाको मत पाउन सक्लिन ? या, सरकारविरुद्ध उठेका आवाजलाई प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस वा साझा पार्टीलगायतका उम्मेदवारले बाजी मार्लान् ?

यसमा दुई वटा धारणा बनाउन सक्ने अवस्था रहेको छ ।

नेपाली समाज भावुक भए पनि त्यो सँगै चाँडो धारणा बनाउने जमात पनि बनिसकेको छ । कास्की, साक्षरतामा अझ बलियो रहेका कारणले नेकपा यसै भावनाका आधारमा मात्र फर्किएला भन्ने ठाउँ छैन । त्यहाँमाथि नेपाली कांग्रेस, साझा पार्टीले कास्की–२ लाई प्रतिष्ठाको क्षेत्र बनाएका छन् ।

तर गत निर्वाचनको मत परिणामलाई मुल्यांकन गर्ने हो भने नेकपाको जीत सहज जस्तै देखिन्छ ।

अधिकारीको मत परिणाम आउँदा निकटतम स्पर्धी रहेका कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ को फराकिलो मतले पराजित गरेका थिए । यो फराकिलो मत नै निर्णायक हुन सक्ने कतिपयको आँकलन रहेको छ ।

अधिकारीले २७ हजार २ सय ७ मत पाएका थिए जहाँ कांग्रेसको मत  १८ हजार ६ सय ६१ मत पाए । महाधिवेशन प्रतिनिधि रहेका चालिसे ४० वर्षदेखि पार्टीमा क्रियाशिल थिए । चुनावको ६ महिना अघिमात्रै प्राध्यापन पेशाबाट राजीनामा दिएका चालिसेले पृथ्वीनारायण क्याम्पसमा पढाउँथे ।

अबको परिणाममा कसले कसलाई धक्का दिन सक्ला ?

प्रतिनिधि सभाको चुनावका बेला तत्कालिन एमाले र माओवादी केन्द्रको समिकरण थियो । यी दुवै पार्टी एक भइसकेका छन् । पाएको मत र मतदातालाई सुरक्षण गर्न सकेका छन् कि छैनन् भन्ने कुरा अहिलेको महत्वपूर्ण प्रश्न बनेको छ ।

निर्वाचन आचारसंहिता लागु भइसकेका कारण उम्मेदवारका लागि प्रचार गर्ने या मत मागिदिन मिल्दैन । यो सबै पार्टीका लागि लागु हुने नियम भएकाले भट्टराईका लागि सहज हुन सक्ने अवस्था छ ।

अर्कोचाहिँ कांग्रेसले चालिसेलाई नै उम्मेदवार बनाउला या नबनाउला भन्ने विषयले पनि असर राख्छ । चालिसे उम्मेदवार नै भएको खण्डमा पनि उनको मतमा साझा पार्टीको हस्तक्षेप हुन सक्ने निश्चितप्रायः छ ।

किनभने साझाले कांग्रेसको पृष्ठभूमी भएकी, प्राध्यापन पेशाकै पृष्ठभूमीमा रहेकी केसीलाई अघि सारेको छ । साझा पार्टीले यसअघि पनि कांग्रेसको मत नै खासेको थियो । त्यसको एउटा उदाहरण काठमाडौं–१ मा प्रकाशमानसिंहलाई रवीन्द्र मिश्रले दिएको धक्का पृष्ठभूमीको उदाहरण हो ।