विराटनगर, ११ कात्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल इटहरी उपमहानगरपालिकाको आयोजनामा वृहत लिम्बुवान प्रवेश कार्यक्रम आयोजना गरिएको छ ।
त्यस अवसरमा नेकपा र संघीय समाजवादी पार्टी छाडेकाहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका छन् । मञ्च तथा लिम्बुवान अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा सुनसरीको इटहरीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल थामी समाजका केन्द्रीय उपाध्यक्ष भरतमान थामीसहित एक सयभन्दा धेरै राजनीतिक कार्यकर्ता नेकपा र समाजवादी पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश गरेका छन् । थामी समाजवादी पार्टी परित्याग गर्दै संघीय मञ्चमा प्रवेश गरेको मञ्चले जनाएको छ ।
कार्यक्रममा नव प्रवेशीहरुलाई खदा र अविर लगाई प्रमुख अतिथि अध्यक्ष लिङ्देनले स्वागत गरेका थिए । त्यस अवसरमा अध्यक्ष लिङ्देनले पहिचानमा आधारित दलहरु विसर्जनवादी कित्तामा उभिएर पद तथा शक्तिको पछि लागेर संघीयतालाई नै कमजोर पारेको आरोप लगाए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा यो सम्बद्ध दश जोड एक प्रान्तीय मञ्चहरु पूर्वको लिम्बुवानदेखि पश्चिम खसानसम्म अब एक ढिक्का भएर अगाडि बढिसकेको लिङ्देनको दाबी थियो ।
कार्यक्रममा लिम्बुवान मञ्च, नेपालका प्रान्तीय महासचिव अशोक चेम्जोङ्, उपमहासचिव दिलकुमार लावती, केन्द्रीय सदस्य टिका ढुंगेल, चन्द्र लिम्बुलगायतको सहभागिता थियो ।












प्रतिक्रिया