
-टिप्पणी
काठमाडौं, ८ कात्तिक । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की–२ को उप निर्वाचनमा उम्मेदवार घोषणाको ‘रेश’मा पहिलो भयो, साझा पार्टी ।
उसले रजनी केसीलाई उक्त क्षेत्रमा आउँदै गरेको मध्य मंसिरको उप निर्वाचनमा भिडाउने निधो गरेको जानकारी दियो । सुसंस्कृत राजनीतिको भाषामा मैदानमा उत्रिएको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीतिमा जनताले सँधै ‘मेन्यू हेरेर मःमः चाउमिन नै मगाएको’ जस्तो परम्परावादी पार्टी र नेतालाई मात्र जिताएकाले मुलुक दलदलमा रहेको बताउँदै आएका छन् ।
उनको तर्कमा दम थियो । तर कास्की उम्मेदवार छनौटमा भने उनी पनि सोही नियतीमा उभिनुपरेको हो की ? भन्ने प्रश्न आम मानिसमा उठ्छ, केसीको राजनीतिक पृष्ठभूमीका कारण ।
कांग्रेस पार्टीमा लामो समय काम गरेकी केसी पोखरा विश्वविद्यालयमा पनि सोही लविङका आधारमा जागिरे भएकी थिइन् । उनको योग्यतासँगै राजनीतिक लविङबिना विश्वविद्यालयमा उपप्रशासक हुन सम्भव नै थिएन, पहिला ।
यति मात्र होइन, कांग्रेसका लागि केसीले खुलेर काम गरेकी थिइन् । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघमा केसीले काम गरेकी थिइन् । २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन् । उनले त्यो चुनाव भने जितिनन् । हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीतिका बेला चर्चित थिइन् ।
कास्कीका पुराना कांग्रेसहरूका अनुसार पार्टीले चुनावमा टिकट नदिने मेसो थाहा पाएपछि उनी साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।
पार्टी गठनयता कुनै पुराना पार्टीमा आवद्ध भएका व्यक्तिलाई नछिराउने बताएका मिश्रका लागि केसी नै उठाउनुपर्ने बाध्यता किन आइलाग्यो ? साझा पार्टीमा छिरेको महिना दिन पनि नबिति उनैलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार किन घोषणा गरियो ? यो निर्णयका पछाडी गहन र मिहिन कारण हुन सक्लान् तर आम जनमानसको मथिङ्गलले बुझ्ने यत्ति हो– रजनी केसी मिश्रले रोजेको ‘मःमः चाउमिन’ नै हुन् । कुरा यत्ति हो, उनको मःमः चाउमिन अरुको भन्दा सफा, स्वस्थ्य हुन सक्ला । या अरु केही ।
त्यसैले समाजका हरेक व्यक्ति कुनै न कुनै राजनीतिक आस्थाप्रति टाँसिएको हुन सक्ने भएकाले नयाँ समाज निर्माणका निम्ति परम्परागत पार्टीबाटै विकल्पमा मानिस छिर्छन् भन्ने तथ्यलाई मिश्रले विर्सन हुँदैन कि !















प्रतिक्रिया