
काठमाडौं, ३ कात्तिक । साहित्यकार नयनराज पाण्डेले सामाजिक सञ्जालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएको कार्यक्रममा नजाने मात्र होइन, बहिस्कारको नै घोषणा गरिदिए । सार्वजनिक रुपमा पाण्डेको यो घोषणाको कारण थियो, ०६४ सालमा रौतहटमा दर्जन बढीको हत्या अभियोग लागेका कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बचाऊमा बोल्नु ।
देउवाले शुक्रबार मात्र एउटा प्रशिक्षणको कार्यक्रममा १२ बर्षअघिको घटनामा छानबिन हुनु गलत भएको र सरकार के हेरेर बसेको थियो भनी प्रश्न गरेका थिए । ०६४ यता नेपाली कांग्रेस जम्मा दुईपटक प्रतिपक्षमा बसेको थियो । घरी सरकारको नेतृत्व गरिरहेको थियो भने घरी सरकारको समर्थनमा सत्तामा नै थियो । यस विषयमा तिव्र आलोचना भएपछि शनिबार पुनः देउवा आफ्नो भनाईबाट पछाडि फर्किए र सरकारलाई निष्पक्ष छानबिनमा सघाउने प्रतिबद्धतासहितको विज्ञप्ति जारी गरे ।
आखिर देउवाले २४ घन्टा पनि नटिक्ने अभिव्यक्ति किन दिए ? र उनी व्याक हुनुपर्ने दबाबमा कसरी परेका थिए ?
देउवाको उक्त अभिव्यक्ति आउनुपूर्व नै कांग्रेसका कतिपय नेताले निष्पक्ष छानबिन गरी दोषी भए आलमलाई कारबाहीको प्रक्रिया बढाउनुपर्ने बताइसकेका थिए । आम साधारण र पीडितले खुलेर उक्त प्रकरणमा आलमको आतंकविरुद्ध बोलीरहँदा सोही क्षेत्रमा कांग्रेसको छवि धुमिल भइरहेको अवस्थितिलाई देउवाले हेक्का नराखी बोलेको कतिपयको ठहर छ ।
‘नसोचीकन बोल्नु र अवस्था, घटनाको गाम्भिर्यताको ख्याल नगर्नु भूल भएपछि सभापतिले विज्ञप्ति निकाल्नु परेको हो’, कांग्रेसका एक नेताले भने,‘यस्ता विषयमा पार्टीको सभापतिको धारणा आधिकारीक हुन जान्छ र यसले पार्टीलाई नै नोक्सान गर्छ भन्ने उनले बुझेनन् ।’
पार्टीभित्रका युवा नेताहरू गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मामात्र होइन, कोइराला खेमाका कतिपय नेताले पनि आलम प्रकरणमा सुक्ष्म अनुसन्धान हुनुपर्ने अभिव्यक्ति आइरहेका बेला बचाऊमा बोल्दा पार्टीभित्र अप्ठेरो परेको गुनासो देउवालाई सुनाइएको थियो । यतिमात्र होइन, कांग्रेसभित्रको बलियो प्रतिपक्ष भएर उदाइरहेको कोइराला परिवारका लागि देउवाविरुद्ध यस प्रकरणमा बोल्नका लागि स्पेस पनि बनेको कतिपयको निष्कर्श थियो ।
कोइराला परिवारबाट सुजाताले त देउवा पार्टीका लागि मात्र नभएर देशका लागि नै घातक भएको अभिव्यक्ति दिइन्, यहि प्रकरणमा । पार्टीभित्र नै तिव्र आलोचनाको शिकार भएपछि देउवा व्याक हुनुको विकल्प नदेखिएको उनीनिकट बताउँछन् ।
कतिपय सामाजिक अभियन्ता र नागरिक समाजका व्यक्तिले नै देउवाको चर्को आलोचनामात्र गरेनन्, उनीसँगै कांग्रेसविरुद्ध सामाजिक सञ्जाल तताए । यसले प्रतिपक्षको भूमिका कमजोर भइरहेको बेला, सरकारको आलोचना बढीरहेका बेला कांग्रेस नै आलोचनाको भुंग्रोमा परेको कतिपयले बताएपछि देउवा ब्याक भएका हुन् ।















प्रतिक्रिया