बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

१८ करोड हिनामिना काण्ड– पक्राउ पुर्जी जारी भएपछि सिइओ फरार, सञ्चालकहरु पनि भागाभाग

दैनिक नेपाल २०७६ असोज २८ गते २०:१९


तुलसीपुर, २८ असोज । दाङको नारायणपुरमा रहेको तत्कालीन बेष्टर्न बैँक हाल देव विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैँँकका सिइओ खिमबहादुर डिसि विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजीरहेको जनाएको छ ।

बैँकको हिनामिना प्रकरणमा अनुसन्धान गर्न सिइओ डिसिलाई पक्राउ गर्न पुर्जी जारी भइसकेको दाङका प्रहरी प्रमुख जनक भट्टराइले बताए ।

उनले बैँकको हिनामिना प्रकरणमा संलग्न बैँकका सिइओसहित सञ्चालकहरु सबै कानुनी दायरामा ल्याएर अनुसन्धान गरीने भन्दै आउदा दिनमा बैँक सम्बन्धी यस्ता अपराध न्युनीकरण गर्न प्रहरीको भुमिका महत्वपुर्ण हुने बताए ।

केही दिन अगाडि मात्रै सिइओ डाँगिमाथि अदालतवाट पक्राउ पुर्जी ल्याएर दाङ प्रहरीले उनको खोजि कार्य तिव्र पारेको जिप्रका दाङका डिएसपि विनोद विक्रम शाहले बताए ।

प्रहरीले बैँक हिनामिना प्रकरणको घटनापछि सिइओ डाँगि सम्पर्कविहिन रहेको भन्दै उनलाई पक्राउ गर्न प्रहरी परीचालन गरीएको पनि शाहले जानकारी दिए । सिइओ डाँगि फरार रहेको प्रहरीले जनाएको छ ।

डिएसपि शाहले फरार रहेपनि दाङ प्रहरीले पक्राउ गरेर छाड्ने भन्दै फरार रहेर कानुनवाट कोही पनि उम्कन नसक्ने चेतावानी दिए । ‘बैँकका सिइओ खिमबहादुर डाँगिलाई बैँक हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जी आइसकेको छ ।

प्रहरीले डाँगिलाई पक्राउ गर्न लागि परेको छ । कोही पनि केही दिन भागेर वच्नेवाला छैनन् । सिआइवि, राष्ट्र बैँक र जिप्रका दाङले हिनामिना प्रकरण अनुसन्धान गरीरहेकाले गलत गर्ने कोही पनि कानुनवाट बच्न सक्दैनन् । बैँक सञ्चालकहरुमाथि अनुसन्धान चलिरहेको छ ।

सिइओ र बैँक सञ्चालकहरुको खाता नै रोक्का गरेर अनुसन्धान भइरहेको छ । अनुसन्धान भइरहेको व्यक्तिलाई विदेश भ्रमण लगायत सबै कुरावाट रोकिहाल्छ, भागेर केही हुनेवाला छैन ।’ दसैँको केही दिन अगाडि मात्रै सिइओ डाँगिलाई खोज्न प्रहरी हापुर पुगेको थियो । दसैँको समयमा टिका लगाउन घर आएको मौँका छोपेर डाँगिलाई पक्राउ गर्न प्रहरी हापुरस्थित घरै पुगेको थियो ।

अनुसन्धानको क्रममा बैँकका सिइओ र सन्चालक समितिको बैँक खाता रोक्का गरि दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यसअगाडि बैंकका म्यानेजर समिर बुढाथोकीसहीत चेकमार्फत कारोवार गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरीरहेको छ । तत्कालिन बैष्टर्न बैँक हालको देव विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो ।

घोराही उपमहानगर १० मा रहेको शाखाबाट कर्जा स्वीकृती नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ । वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देव विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए ।

बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् । बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफुलाई फाइदा हुने गरी र बैकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेका छन् । दाङ प्रहरीले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।

व्राञ्च म्यानेजरले बढिमा २ लाख भन्दा बढी लोन दिन नपाउने भएकाले यहाँ मिलीगतरुपमा बैँक हिनामिना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यति ठुलो रकम हिनामिना हुँदा बैँकका सिओ, कर्मचारी र सञ्चालकहरुको मिलेमतो भएर नै हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान त्यसतर्फ केन्द्रित गरेको छ । बैँकमा ठुलो रकम लोन दिनका लागि बैँकका सिइओ, लोन अधिकृत, बैँक सञ्चालकहरुसहितको लोन समितिले स्वीकृति नहुँदा सम्म लोन दिन पाउदैनन् ।

प्रतिक्रिया
सम्बन्धित