६ कार्तिक २०८३, शुक्रबार

एनआरएन सम्मेलन : चुनावी ‘मार्केटिङ’मा सुन्दरीहरूको प्रयोग

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । कुनै उम्मेदवारको चुनावी प्रचारका क्रममा हायात होटलभित्र एक सुन्दरी टक्क आइन् र भनिन्,‘दाईबाटै सुरु गर्नुपर्ने भयो, भोट चाहिँ उहाँलाई है !’

भिजिटिङ कार्डजस्तो चुनावी प्रचारको साम्रगी दिँदै एउटा ब्रसर पनि दिएर भनिन्,‘प्लिज भोट उहाँलाई दिनू होला ।’ दैनिक नेपाल प्रतिनिधिले सोधे,‘किन उहाँलाई दिनुपर्ने तपाईको आफन्त हो ? अथवा तपाई उहाँको शुभचिन्तक ?’

प्रत्युत्तरमा ति सुन्दर युवती भन्छिन्,‘उहाँका लागि हामी पेइङमा चुनाव प्रचार गरिरहेका छौं, यहाँले र यहाँका साथीले पनि उहाँलाई भोट दिनुहोला ।’

उपाध्यक्ष पदका उम्मेदवारको चुनावी प्रचार सामग्री दिएकी ति युवती सोध्छिन्,‘तपाई कुन देशबाट आउनुभएको ?’

‘यतै बाट हो, म भनिदिउँला, मतका लागि ।’

युवतीहरूको एउटा झुन्ड फिस्स हाँस्दै सोही काममा व्यस्त हुन थालेका थिए । एक जना उम्मेदवारका लागि मात्र होइन, अनेकका लागि यस्ता फरक–फरक समूहका युवती चुनावी प्रचारमा सक्रिय थिए ।

गैर आवासीय नेपाली संघ (एनआरएन)को नवौं विश्व सम्मेलनका क्रममा यो परिदृश्य पैसा खर्च गर्ने उम्मेदवारका निम्ति गरिएको प्रष्ट नै थियो ।

१२ पदका लागि ४२ उम्मेदवार मात्र होइन, विविध जिम्मेवारीका अनेकका लागि यसरी युवतीहरू खटाइएका छन्, रकम तिरेर । एक सहभागी भन्छन्,‘यो चुनावी मार्केटिङ हो, ठूलो रकम खर्च गरिएको छ ।’

भाइटल पदका लागि उठेका कतिपयले प्रतिनिधिको प्लेनभाडादेखि पाँचतारे होटलको बिलसम्म तिरेको विवरण अनौपचारिक रुपमा दैनिक नेपालको हात लागेको छ । हायात होटल पुरै रिजर्भ गरिएका छन्, बौद्ध र आसपासका तारे होटलहरूमा प्रतिस्पर्धीहरूले मोटो रकम खर्च गरेको बुझिएको छ ।

झन्डै चार घन्टासम्म हायात होटेल परिसरमा दैनिक नेपालका प्रतिनिधिले पत्तो लगाएको विवरणअनुसार चुनावी सरगर्मी आफ्नो पक्षमा पार्नका लागि करोडौं रकम खर्च गरिएको छ । जसमा प्रचारका लागि गायिका रेखा शाहदेखि नलिना चित्रकार, कलाकारहरूलाई पनि रकम तिरेर चुनावी मार्केटिङका लागि उपयोग गरिएको छ ।

यस पटकको चुनाव आफ्नो पक्षमा पार्नका लागि कुल अर्याल र कुमार पन्तको प्यानल विविध हिसाबले सक्रिय रहेका छन् । आगामी दुइृ बर्षपछिको कार्यकालको पूर्वतयारीका रुपमा कतिपय उपाध्यक्ष र महासचिवका उम्मेदवारले पनि लाखौं रकम खर्च गरेको बुझिएको छ ।

पैसाको खोलो बगाइएको निर्वाचन प्रचारमा विविध उम्मेदवारले आफ्ना लागि कम्तिमा आधा दर्जन भन्दा बढी युवतीलाई चुनाव प्रचारमा खटाएका छन्, पेइङमा । एक युवतीले दैनिक नेपालसँग भनिन्,‘दिनको तीन हजारका दरले रकम लिएर चुनावी प्रचारमा जुटेका छौं । अहिले पो दशैं आएजस्तो भएको छ ।’