बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

आशाको किरण बोकेर राजनीतिमा आएका निर्देश

‘नोट चल्ने तर, भोट नचल्ने कहिलेसम्म ?’

रामकुमार शाही २०७६ असोज २६ गते १७:२९

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल र चियापसलमा हेर्ने हो भने धेरैजसो युवाहरु राजनीतिप्रति वितृष्णा पोखिरहेका हुन्छन् । राजनीतिज्ञलाई गाली गरिरहेका हुन्छन् । यस्तो लाग्छ, राजनीतिप्रति युवाहरुलाई घृणा छ, राजनीतिज्ञहरुप्रति आक्रोश छ । के साँच्चिकै युवाहरु राजनीतिदेखि पलायन हुन लागेका हुन् ? वा राजनीतिप्रति युवाहरुको अनिच्छा छ ?

तर, विवेकशील नेपाली दलका केन्द्रीय सदस्य निर्देश सिलवाल राजनीतिप्रति निकै उत्साहित छन् । उनी आफूजस्तै हजारौँ, लाखौँ युवासँग सँगै हिँड्न चाहान्छन् । हातेमालो गर्न चाहान्छन् । र, समृद्ध नेपाल निर्माणको महाअभियानमा जुटन् चाहान्छन् ।

उनको मत छ : आफू बन्न सजिलो छ तर, देश बनाउन निकै गाह्रो छ । यसर्थ, एक्लै दौडेर कहिँ पुगिन्न ।

अर्थात्, उनी राजनीतिमा युवाहरु आउनुपर्छ भन्ने मान्यता राख्छन् । राजनीतिभन्दा पर रहेर विषवमन गर्नुको साटो परिवर्तनका लागि आफै जाग्नुपर्ने उनको मत छ । उनको विचारमा हरेक राजनीतिक दलले युवाहरुलाई अहिलेसम्म प्रयोग मात्र गरे । तर, अब यो पर्खाल तोड्ने बेला भएको छ । युवाहरु आफैले नेतृत्व गर्ने बेला आएको छ ।

यसैकारण त उनी राजनीतिक ‘फिल्ड’मा छन् । र, आउँदो २८ गतेदेखि कार्तिक २ गतेसम्म जनकपुरमा हुने विवेकशील नेपाली दलको प्रथम राष्ट्रिय सम्मेलनमा महासचिवका उम्मेदवार बनेका छन् ।

सिलवाल राजनीतिका अलवा प्राज्ञिक क्षेत्रमा पनि उत्तिकै अब्बल छन् । २०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी त्यही वर्षको ‘टियु गोल्ड मेडलिस्ट’ पनि हुन् ।

स्वीडेनको माल्मो विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेका सिलवाल कानुका विद्यार्थी पनि हुन् । उनी अहिले एलएलबी अन्तिम वर्षको नजिता कुरिरहेका छन् । ०७० सालदेखि ०७२ सालसम्म त्रिवि विद्यार्थी समाजको संयोजक भएर काम गरिसकेका सिलवाल राजनीतिशास्त्र विद्यार्थी समाज नेपालको अध्यक्ष पनि हुन् ।

राजनीतिमा पनि उनको योगदान कम छैन । खासगरी पार्टी निर्माणमा उनले अमूल्य भूमिका खेलेका छन् । विवेकशील दलको विधान कार्यदल संयोजक भएर काम गरेका सिलवालले पार्टीको विधान, निर्देशिका, नियमावली र कार्यविधि निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका छन् ।

गएको प्रतिनिधिसभा निर्वाचनमा उनी लमजुङबाट वाम गठबन्धनका देव गुरुङसँग चुनावी मैदानमा उत्रिएका थिए । भलै, उनी पराजित हुन पुगे ।

महासचिवमा उम्मेदवारी किन त ?

उनी भन्छन्:  विवेकशील नेपाली दललाई निर्विकल्प बनाउन । युवाहरुलाई राजनीतिमा संगठित गराउन । सहभागितामुलक लोकतन्त्र, सशक्त विकेन्द्रीकरण तथा सदस्य सार्वभौमिकता कार्यान्वयन गराउन ।

यस्तै, सांगठनिक, वैचारिक र नीतिगत नेतृत्वको लागि, आगामी दिनको कार्यदिशा, रणनीति र संगठनसम्बन्धी स्पष्ट खाकाका लागि पनि आफ्नो उम्मेदवारी रहेको सिलवाल बताउँछन् ।

उनी आफूलाई आशाको किरणसहित राजनीतिमा आएको बताउँछन् । खासगरी लमजुङमा पार्टी निर्माणका लागि अहम् भूमिका खेलेका उनी आफूलाई नेपाली परिवेश बुझेर समसामयिक राजनीतिमा दल्लख राख्ने व्यक्तिका रुपमा हेर्छन् ।

र, आफू महासचिवमा निर्वाचित हुनेमा विश्वस्त छन् ।

विवेकशील नेपाली दलले युवामा नेतृत्व हस्तान्तरणको अभियान पनि शुरु गरेको छ । यसको संकेतका रुपमा हालका अध्यक्ष उज्ज्वल थापाले अब अध्यक्षमा नउठ्ने बताइसकेका छन् । अरुका लागि मार्गप्रशस्त गरिसकेका छन् ।

त्यति मात्र होइन विवेकशीलले ५० प्रतिशत महिला पदाधिकारी अनिवार्य गरेको छ । कम्तिमा ३८ प्रतिशत निर्वाचन प्रक्रियाबाट आउनेछन् ।

साथै, पार्टीले अनलाइनमार्फत भोट हाल्न पाउने व्यवस्था पनि गरेको छ । विश्वभर रहेका प्रतिनिधिहरुले भौतिक रुपमा उपस्थित हुन नसके अनलाइनमार्फत भोट हाल्न पाउने व्यवस्था मिलाएको छ भने ‘नो भोट’को पनि व्यवस्था गरेको छ ।

‘नोट चल्ने, भोट नचल्ने’ मान्यतालाई भत्काएर विश्वका जुनसुकै कुनाबाट भोट हाल्न सक्ने व्यवस्था गरेका छौँ’, सिलवालले भने ।

अर्थात, विदेशमा रहेका नेपालीले पठाएको नोट (रेमिटेन्स) स्वीकार्य हुने तर, उनीहरुलाई मताधिकारबाट बञ्चित गर्ने कार्य बेठीक रहेको पार्टीको धारणा छ ।

‘नोट चल्ने तर, भोट नचल्ने कहिलेसम्म ?’ उनको प्रश्न छ । र, अन्य राजनीतिक दलले पनि यो कुरालाई आत्मसात् गर्नुपर्ने सुझाव पनि छ ।

प्रतिक्रिया
सम्बन्धित