
रौतहट, २५ असोज । राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानीय तहका प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार जरिवाना गरेको छ ।
जिल्लाको दक्षिणीभेगस्थित ईशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्द किशोर प्रसाद गुप्ता र सूचना अधिकारी दिपेश रौनियारलाई जनही ७ हजार रुपैयाँ जरिवाना गरेको हो ।
जरिवाना भएको रकम असुल उपर गरी लिखित जानकारी गराउन आयोगले जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्राचार समेत गरेको छ ।त्यतिमात्र नभई राष्ट्रिय सूचना आयोगले माग अनुसारको सूचना उपलब्ध गराउन र विभागिय कारवाहीको सिफारिस गर्न ईशनाथ नगरप्रमुखलाई समेत पत्र लेखेको छ ।
ईशनाथ नगरपालिका २ का जयप्रकाश साहले आर्थिक बर्ष २०७४/०७५ र २०७५/०७६ को नगर परिषदको निर्णय, नपामा कार्यरत स्थायी, करार, ज्यालादारी लगायत कर्मचारीको नियुक्तीपत्र माग गरेको थियो ।
त्यसैगरी, नपाले वितरण गरेको सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नेको विवरण, आव २०७४/०७५ मा मुश्लिम महिलाको चेतना अभिबृद्धीको लागि कार्यक्रम गर्ने संस्था र रकमको विवरण, वडा १ देखि ९ सम्मको विकास योजना तथा उपभोक्ता समितिको विवरण, लगायत विभिन्न विकास निर्माणबारे १४ बुँदे सूचना माग गरेको थियो ।
सूचनाको हक सबन्धी ऐन अनुसार निवेदन र सो बापत लाग्ने दस्तुर ११ सय रुपैयाँ बुझाएको जयप्रकाश साह बताउँछन् ।
पटक पटक सूचना माग गर्न नगरपालिकाको कार्यालयमा जाँदा कार्यालय प्रमुख नन्दकिशोर प्रसाद गुप्ता र सूचना अधिकारी दिपेश रौनियारले विभिन्न बहाना बनाएर फर्काउने गरेका थिए ।
सो पश्चात साहले राष्ट्रिय सूचना आयोगमा नगर कार्यालय प्रमुख र सूचना अधिकारी बिरुद्ध २०७५ असोज ७ गते पुनरावेदन गरेका थिए ।
त्यसकोे झण्डै एकबर्ष पछि सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, सूचना आयुक्तद्वय किरण कुमार पोखरेल, यसोधादेवी तिम्मलसिनाको निर्णय न.२३ अनुसार २०७६ साउन २४ गते माग अनुसारको सूचना उपलब्ध गराउन ईशनाथ नगरपालिकालाई आदेश भएको थियो ।
आयोगको आदेशलाई समेत बेवास्ता गरेको कारण आयोगको २०७६ भदौ ३१ गतेको निर्णय बमोजिम कार्यालय प्रमुख नन्द किशोर प्रसाद गुप्ता र सूचना अधिकारी दिपेश रौनियारलाई जनही ७ हजार रुपैयाँ जरिवाना गरेको हो ।











प्रतिक्रिया