
काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपनि सी सी चिनफिङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन् । सीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग पनि एक्लाएक्लै भेटवार्ता गर्ने तय भइसकेको छ ।
तर, सीले प्रचण्डभन्दा पहिले नै देउवासँग भेट्नेछन् । आज दिउँसो काठमाडाैँ आइपुग्ने सीले आजै साँझ देउवासँग भेटवार्ता गर्ने तय भएको छ । आफ्नो पहिलो दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं उत्रेपछि विमानस्थलबाट सी होटल सोल्टी जाने र त्यहाँ केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास जाने कार्यक्रम छ।
साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता तय भएको छ । त्यसपछि पुन: होटल सोल्टी फर्किने सीले सवा ७ बजे पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने तय भएको हो ।
काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार सीसँग भेट्न सभापति देउवा एक्लै जाने निश्चित भएको छ ।
सी-देउवा भेटवार्तापछि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको सम्मानमा साढे ७ बजे सोल्टी होटलमै रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया