११ मंसिर २०८३, शुक्रबार

तिब्बती शरणार्थी चीनको टाउको दुःखाई, सीको पहिलो सुरक्षामा आफ्नै सेना

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा सुरक्षा चुनौतीमा कुनै कमी आउन नदिन दुबै देशका सरकार र सुरक्षाकर्मीहरूले विशेष योजना बनाएका छन् ।

नेपाली सेना र प्रहरीले चिनियाँ राष्ट्रपतिको सुरक्षा बनाउनेछन् । चीनलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती तिब्बती शरणार्थी रहेको छ । तिब्बती शरणार्थीलाई सम्भावित प्रदर्शन गर्न सक्ने भन्दै १२ जनालाई पक्राउ गरिसकिएको छ ।

राष्ट्रपति सी चढ्ने बुलेटप्रुफ तीन गाडी काठमाडौं ल्याइ सकिएको छ । त्यस्तै खालका गाडी पनि भारत पनि लगिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने भएको छ । पाँच अति विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी सेनाको हुने प्रचलनअनुसार सीको भ्रमणमा पनि नेपाली सेनाबाटै पिएसओ खटिनेछन् ।

सेनाकै नेतृत्वमा सुरक्षा योजना बनिरहेको छ । चीनका राष्ट्रपति सीको पहिलो भित्री घेरामा भने चिनियाँ सेना नै हुनेछ ।

राष्ट्रपति सी सोल्टी होटेलमा बस्नेछन् । उनको सवारी रुटमा सेनाको हेलिकोप्टरले समेत स्कर्टिङ गर्नेछ ।

सीको सवारीका क्रममा कम्तीमा आधा घण्टा सडक खाली गराइनेछ । सवारी रुटमा पर्ने अग्ला घरहरूमा सुरक्षाकर्मी बस्नेछन् ।

उनको रुटमा सिसिटिभीको कभरेज हुनेछ । काठमाडौंका अन्य सडकमा जोडिएका सिसिटिभीसमेत सोही रुटमा सारिएको छ ।

सीको भ्रमणलाई लक्षित गरी उपत्यकामा एक हजार आठ सय प्रहरी थप गरिएको छ । सातै प्रदेशबाट थप मद्दतका लागि प्रहरी झिकाइएको हो ।

थप मद्दतका लागि झिकाइएका प्रहरी बिहीबारदेखि नै परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताएका छन् ।

उनीहरूलाई सीको रुटमा खटाइनेछ । विमानस्थलदेखि सोल्टी होटेलसम्मको सडकमा ती सुरक्षाकर्मी खटिनेछन् ।

होटेलबाट शीतलनिवासमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती खटिनेछ । सीको भ्रमणका लागि जम्मा पाँच हजार प्रहरी खटाइएको छ ।

स्वतन्त्र तिब्बतसम्बन्धी प्रदर्शन गर्न सक्ने आशंकामा प्रहरीले तिब्बती शरणार्थीमाथि निगरानी बढाएको छ ।

फर्पिङबाट ६, स्वयम्भूबाट चार र बौद्धबाट दुई जना तिब्बती शरणार्थीलाई नियन्त्रणमा लिएको छ ।