सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सरकारलाई बाबुरामको सुझाव : ऋणजालमा नफस्ने गरी चिनियाँ सहयोगबाट रेल बनाऔँ

दैनिक नेपाल २०७६ असोज २३ गते १४:१५

काठमाडौँ, २३ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ऋणजालमा नफस्ने गरी रेल निर्माणमा चिनियाँ सहयोग लिन सरकारलाई सुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री लगायतसँग गरेको अन्तर्क्रियामा भट्टराईले चिनियाँ ऋण र अनुदानको सन्तुलन मिलाउन पनि सुझाव दिएका हुन् ।

बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले सरकारलाई दिएको सुझाव भन्दै ६ बुँदा उल्लेख गरेका छन् ।

उनले सुझाबका क्रममा सडक, व्यापार र लगानीका विषयमा चीनसँग सम्झौता गर्नुपर्ने बताएका छन् । यस्तै तत्काल चीनसँग सुपुर्दगी सन्धिमा हस्ताक्षर नगर्न आग्रह गरेका भट्टराईले चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्न पनि सुझाव दिएका छन् ।

यस्ता छन् भट्टराईका ६ सुझाव 

१. मुख्यतः चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरका रूपमा लिने । तीन वटै शक्तिसँग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद/तटस्थताको नीति लिने। बीआरआई र आइपीएस दुवैबाट लाभ लिने । भारत र चीनबीच नेपाललाई आर्थिक सेतुको रूपमा विकास गर्ने।

२. चीनसँग रेल, सडक आदि कनेक्टिभिटी बिस्तारमा जोड दिने । रेल बनाउँदा ऋण जालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्रथमिकता दिने ।

३. ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने।

४. सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्ने ।

५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनु पर्ने ।

६. सन् १९६० को नेपाल–चीन शान्ति तथा मैत्री सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने।

प्रतिक्रिया
सम्बन्धित