सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

चीनसँग तत्काल सुपुदर्गी सन्धिमा हस्ताक्षर नहुने

दैनिक नेपाल २०७६ असोज २३ गते १३:३५

काठमाडौँ, २३ असोज । चीनसँग तत्काल सुपुदर्गी सन्धिमा हस्ताक्षर नहुने भएको छ । यसअघि पर्सीदेखि हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा सुपुदर्गी सन्धिमा हस्ताक्षर हुने चर्चा चलेको थियो ।

तर, आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन्धिको विषयमा छलफलमै रहेको भन्दै चिनियाँ राष्ट्रपति सीको भ्रमणको समयमा सम्झौता नहुने स्पष्ट पारेका हुन् ।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत तथा चीन ममिलाका जानकारहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको परामर्श बैठकमा ज्ञवालीले छलफलमै चरणमा रहेको जानकारी गराएका थिए ।

तर, सीको नेपाल भ्रमणकै क्रममा सरकारले चीनसँग सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्नेगरी मन्त्रीपरिषद्बाट स्वीकृत गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमण क्रममा जाहेर प्रतिबद्धताअनुसार सुपुर्दगी सन्धिमा हस्ताक्षरको तयारी भएको हो ।

प्रधानमन्त्री ओलीले २०७५ असार पहिलो साता जनवादी गणतन्त्र चीनको भ्रमण गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री भएको ५ महिनापछि बेइजिङ पुगेका उनले त्यतिबेला सुपुर्दगी सन्धिका लागि नेपाल तयार रहेको प्रतिबद्धता जनाएका थिए । भ्रमण लगत्तै जारी १४ बुँदे संयुक्त विज्ञप्तिमा समेत यो विषय परेको थियो ।

बैठकमा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले पनि सुपुदर्गी सन्धिको विषयमा संवदेनशील भएको भन्दै सबैलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका थिए ।

छलफलमा सहभागी कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले सरकारले रेल, व्यापार र रोडका विषयमा सम्झौता गर्ने तयारी गरेको जानकारी दिएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले सरकारी तयारीबारे सहभागीलाई व्रिफिङ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित