बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

‘चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ तर, ऋणमा रेल बनाउनु हुँदैन’

दैनिक नेपाल २०७६ असोज २२ गते १६:४८


काठमाडौं, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको स्पष्ट पारे ।

उनले भने, ‘म परराष्ट्रमन्त्री भएको बेला नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थियौं, उहाँले त्यतिवेला पनि उपयुक्त समयमा आउने कुरा गर्नुभएको थियो । उहाँ अब आउँदैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’

उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए । उनले भने, ‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ । विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ । हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’ आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पारे ।

उनले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्धती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दापनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने बताए । र, अहिले सोहीअनुसार आफूहरु अघि बढिरहेको पनि महतको जिकिर छ ।

चीनसँग पनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउँदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भिर हुनुपर्ने बताए । नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्ता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउँदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्नेमा महतले जोड दिए । उनले भने, ‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्तालाई ध्यानमा राखेर आफ्नो एजेण्डा अघि सार्नुपर्छ ।’

आफू नै परराष्ट्रमन्त्री हुँदा बिआरआई परियोजनाबारे सम्झौता भएको सुनाउँदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ । उनले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए ।

भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुँदैन, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनको संकेत छ । उनले भने, ‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिँदैन । हामीले लगानी मूल्य त परै जाओस्, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं ।’
महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गरे ।

तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनको तर्क छ । चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उनको धारणा छ ।

उनले भने, ‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन । त्यसैले ऋणमा पनि बनाउनुहुँदैन । बरु, अनुदानमा नै बनाउनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित