बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

चिनियाँ राष्ट्रपति सी २५ गते नेपाल आउने पक्का

दैनिक नेपाल २०७६ असोज २२ गते ११:१८

काठमाडौँ, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही २५ गते शनिबार नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने र २६ गते फर्किने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ असोजदेखिको दुई दिने राजकीय भ्रमणमा आउने तय भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ यसअघि राष्ट्रपति सी २७ असोजमा नेपाल आउने भनिएपनि भ्रमण २ दिन छिटो हुन लागेको हो।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । यस्तै, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीले २४ असोजमा भारतको राजकीय भ्रमण गर्ने उल्लेख गरेको छ। सी भारत हुँदै नेपाल आउने छन् ।

यता, करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।

यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।

सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित