सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महरा प्रहरी बृत्त सिंहदरबारको हिरासतमा

दैनिक नेपाल २०७६ असोज १९ गते १९:५१

काठमाडाैँ, १९  असोज । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारको न्यायीक हिरासतमा राखिएको छ।

आइतबार साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका उनलाई सिंहदरबार बृत्तमा राखिएको हो । काठमाडौं जिल्लाका अन्य प्रहरी युनिटको हिरासत भन्दा सिंहदरबारको हिरासत केही सुविधायुक्त छ ।

सोही कारण महरालाई पनि त्यहीँ राखिएको प्रहरी स्रोतले जनाएको छ । यसअगाडि पनि भिआईपीहरु पक्राउ पर्दा त्यहीँ बृत्तमा राखिने गरिएको थियो।

आइतबार साँझ महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको प्रहरी टोलिले महरालाई सभामुखको सरकारी निवासमै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जी दिएपछी महरालाई सरकारी निवासबाट पक्राउ गरि निजि कारमा राखेर सिंहदरबार बृत्तमा पुर्याइएको हो ।

आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयासको आरोप लागेको छ ।

असोज १२ गते राति महराले आफूलाई बलात्कारको प्रयास गरेको भनी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले १४ गते मंगलबार मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।

तर, त्यसको भोलिपल्टै बयान फेर्दै महरा आफ्नो बाबु समान रहेको र आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् ।

यद्यपी, सभामुख महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार संसद शाहीले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

आरोप लागेसँगै असोज १४ गते मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

फौजदारी कसुरमा अदालतको पक्राउ आदेशसंगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्नेछ। योसंगै उनी प्रतिनिधि सभा सदस्यबाट स्वत: निलम्बन हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित