
काठमाडौं, १७ असोज । अमेरिकी राजदूत र्याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीति कुनै पनि सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत बेरीले शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग भेटेर आफ्नो मुलुकले अघि सारेको इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत बताए । पूर्वप्रधानमन्त्री समेत रहेको खनालले भेट्न राजदूत बेरी डल्लुस्थित निवासमा पुगेका थिए ।
भेटमा खनालले भने नेपालले असंलग्नताको नीति लिएको स्मरण गर्दै त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने बताएका छन् । राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धबारे पनि कुराकानी भएको उनले जानकारी दिए ।
राजदुत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताएको वरिष्ठ नेता खनालले बताए ।
त्यस अवसरमा राजदुत बेरीले सो स्ट्राटिजी कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पार्नु भएको थियो । ‘‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै सैन्य संगठन होइन् यो कुनै राजनीतिक मोर्चा पनि होईन,’ अमेरिकी राजुदत बेरीसँगको भेटवार्तालाई उधृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिलकुलै प्रयत्न गरिरहेका छैनौं ।’











प्रतिक्रिया