
काठमाडौं, १६ असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको विकृति झन–झन बढेकोमा चिन्ता गरेका छन् । उनले भने, ‘यो क्षेत्रको सुधारको लागि डा. गोविन्द केसले १६ औं पटकसम्म आमरण अनशन बस्नुभयो, पटक पटक वार्ता भए, आन्दोलन भए, सम्झौतापनि भए, तर राज्यतर्फबाट अहिलेसम्म सम्झौता कार्यान्वयन भएन ।’
चिकित्सा शिक्षा आयोग गठनको एक वर्षमा एक पटकमात्रै बैठक बसेको उनको गुनासो छ । डेमोक्रेटिक मुभमेन्ट फर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘६ महिनाभन्दा बढि ग्याप हुनुहुँदैन भन्ने प्रावधान छ, तर बैठक नसबेको एक वर्षभन्दा बढि भैसक्यो, अहिलेसम्म बैठक बसेको छैन ।’ आयोगमा भएका प्रावधान लागू गर्न सरकार चुकेको उनको गम्भीर आरोप छ ।
उनले कमन एन्ट्रान्स, शुल्क निर्धारण लगायतका कुरामा पनि राज्यले लिङरिङ गरिरहेको आरोप लगाए । उनले भने, ‘यी कुराहरु लागू गर्न सरकारको तर्फबाट प्रयास नै भएन ।’ शुल्क निर्धारण समितिमा आफू भएको सुनाउँदै शुल्क निर्धारण गर्ने तर लागु गर्ने कुरामा सरकार चुकेको डा. श्रेष्ठको दाबी छ ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र लगभग माफियाहरुको हातमा पुगेको कडा टिप्पणी गरेका छन् । उनले भने, ‘संविधानमै स्वास्थ्य र शिक्षालाई मौलिक हकको रुपमा राखेको छ । राज्यले यो कुराको पूर्ण प्रत्याभूति र सुनिश्चितता गरेको छ ।’
संविधानमा समाजवाद र सामाजिक न्यायको कुरा गरिएकाले यो प्रति सरकार संवेदनशील हुनुपर्ने उनको तर्क छ । तर, पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रलाई अध्यधिक नाफाखोरलाई सुम्पिएको उनको आरोप छ ।
डेमोक्रेटिक मुभमेन्ट फर नेपालका महासचिव डा. चन्दन रमणले सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागू गर्नुपर्ने बताएका छन् । त्यस्तै, उनले सबै मेडिकल कलेजमा ७५ प्रतिशत चिकित्सा छात्रावृत्तिको कोटा निर्धारण गरेर कार्यान्वयन गर्नुपर्ने पनि आफूहरुको माग रहेको सुनाए ।
लेट फि–फाईन शुल्कको नाममा भएको लुटतन्त्र तत्काल रोकिनुपर्ने पनि उनको माग छ । रमणले एम.बि.बि.एस., नर्सिङ, बि.डि.एस., एम.डी, एम.एसको प्रवेश परीक्षा निश्पक्ष हुनुपर्ने पनि माग गरे ।
यही असोज ५ गतेमात्रै काठमाडौं विश्वविद्यालयले एम.बि.बि.एस र बि.डि.एस. प्रवेश परीक्षाको नतिजा २५० जना विद्यार्थीको गडबढ भएर आएकोबारे पनि निश्पक्ष छानबिनका माग गरे ।











प्रतिक्रिया