११ मंसिर २०८३, शुक्रबार

भौतिक मन्त्रालयमा मन्त्राणीले देखाइन् असली कमाल, बिचाैलियाहरूका दिन खुले

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुलाकी सडक आयोजनामा २७ अर्ब रुपियाँको ठेक्कामा सेटिङ गर्न नपाएपछि छटपटीमा परेको आरोप कर्मचारीहरूले लगाएका छन् ।

मन्त्री महासेठले हुलाकी सडकमा सेटिङ गर्नकै लागि अशोक तिवारीलाई आयोजना प्रमुख बनाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खबरदारी गरेका कारण तिवारीले सेटिङ गर्न सकेनन् । ठूलै प्याकेज बनाउँदा पनि ठेक्कामा प्रतिस्पर्धा भएपछि राष्ट्रलाई फाइदा भएको छ ।

मन्त्री महासेठले हुलाकी सडकको ठेक्का सार्न सडक विभागका महानिर्देशक केशव शर्मासहितलाई राखेर दबाब दिएका थिए । उनले सार्न नमानेपछि हुलाकी सडकको ठेक्का प्रतिस्पर्धाका आधारमा दिइसकिएको छ । ठेक्कामा सेटिङ नभएपछि मन्त्री महासेठ आयोजना प्रमुख तिवारीसँग रुष्ट छन् ।

मन्त्री महासेठले सडक विभागअन्तर्गतका आकर्षक डिभिजन कार्यालय र आयोजनामा बदनाम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै समातेका डीईहरूको सरुवा गरेका छन् ।

अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई मदन भण्डारी राजमार्ग आयोजनाको पूर्वी खण्डको प्रमुखमा सरुवा गरिएको छ । उनलाई काठमाडौं डिभिजन सडकको इन्जीनीयर हुँदा घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

तत्कालीन डिभिजन प्रमुख गोपालबहादुर खड्काले तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई प्रभावमा पारी उनका बिरुद्ध मुद्दा नै दायर हुनबाट रोकेका थिए । उनी मन्त्री महासेठपत्नी जुलीकुमारी महतोलाई घुस बुझाएर गएको स्रोतले जनाएको छ ।

जसको समन्वय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले गरेको मन्त्रालयकै अधिकारी बताउँछन् । मन्त्री महासेठले सिंचाई मन्त्री हुँदा ज्ञवालीलाई निजी सचिव राखेका थिए ।

भौतिक पूर्वाधार मन्त्री भएपछि पनि उनले रोजेर ज्ञवालीलाई मन्त्रालयको कर्मचारी प्रशासनमा ल्याएका छन् । तिनै ज्ञवालीले मन्त्रीपत्नी जुलीकुमारीसँग मिलेर घुस संकलन गर्दै आकर्षक आयोजनामा डीई र इन्जिनियर सरुवा गर्दैआएका छन् ।

मदन भण्डारी आयोजनाको प्रमुखमा ज्ञवाली बिचौलिया बनी ८० लाख रुपियाँ मन्त्रीपत्नी जुलीलाई बुझाएर सरुवा गराएको उच्च स्रोतले जनाएको छ । धरान–चतरा–गाईघाट–हेटौंडा सडक मदन भण्डारी राजमार्गअन्तर्गत पर्दछ ।

खनाल डीई भएपछि बैतडीमा सरुवा भएका थिए । बैतडीको प्रमुख हुँदा खनालले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता गरी अर्कै स्थानमा निर्माण गरेको सडकको भुक्तानी दिएकाले उनलाई कारबाही गर्नुपर्ने प्रतिवेदन महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ–‘डिभिजन सडक कार्यालय बैतडीले एक स्थानमा निर्माण कार्य गर्नेगरी सम्झौता भएकोमा निर्माण ब्यवसायीले अन्य स्थानमा ६ आइटमको काम गरेको देखाई रु. ४ करोड ६ लाख १५ हजार रुपैयाँ भुक्तानी दिएकोमा भेरिएसन आदेश जारी भएको छैन । तोकिएको काम नगरी भुक्तानी गर्नेलाई जिम्मेवार बनाउनुपर्छ ।’

यसैगरी बिहानैदेखि मदिरामा मस्त हुने डीई राजेश पौडेललाई मदन भण्डारी आयोजना पश्चिम खण्डमा सरुवा गरिएको छ । मदन भण्डारी आयोजना १२ अर्ब रुपियाँको हो ।

खनाललाई ठेकेदार लामा कन्ष्ट्रक्सनले लगानी गरेका हुन् भने पौडेललाई कालिका कन्ष्ट्रक्सनले मन्त्रीपत्नीलाई घुस बुझाएर लगेको हो । ठेकेदारले आयोजना प्रमुखको सरुवा गरेपछि सडकको गुणस्तर कस्तो होला ? भौतिक मन्त्रालयका एक अधिकारीले प्रश्न गरे ।

राजस्व समूहका कर संकलन गर्ने कर्मचारी मालपोत, नापीमा हजार, लाख भ्रष्टाचार नियन्त्रणमा केन्द्रित अख्तियारले सडकका सरुवामा हुने करोडको खेलमा चासो नै नदिएको गुनासो छ ।