
काठमाडौं, १२ वैशाख । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख अजय कुमारले काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
भारतीय सरकारको तीन करोड ८६ लाख आर्थिक सहयोगमा बनेको विद्यालय भवनको शनिबार उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष श्रीमती शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा अगुवाहरुको सहभागीता थियो ।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको, सामुदायको सहयोगबाट सञ्चालित विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन् । विद्यालयमा ५० प्रतिशत छात्रा रहेका छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन्।
तीन तल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षा कोठा लगायत प्रत्येका तलामा छात्र छात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ ।
यो सामाजिक परियोजनामा जोडिएका कारण भारत सरकारले खुसी प्रकट गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।











प्रतिक्रिया