सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

प्रभासलाई रावण बन्न प्रस्ताव

दैनिक नेपाल २०७६ असोज ११ गते ८:५३

मुम्बई । बाहुबली र साहो फिल्मबाट बलिउडमा चर्चा कमाएका दक्षिण भारतीय अभिनेता प्रभासले अब कुन फिल्म खेल्नेछन् भन्ने कौतुहलता सुरू भइसकेको छ ।

यही सन्दर्भमा एउटा खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार दंगल र छिछोरेका निर्देशक नितेश तिवारी भारतीय फिल्म उद्योगकै ठूलो फिल्म बनाउने तयारी गर्दैछन् । यो फिल्म रामायण हो ।

तिवारीले रामायणलाई तीन भागको फिल्म बनाउने तयारी गरिरहेका बताइएको छ । यही फिल्ममा प्रभासको पनि मुख्य भूमिका हुने अनुमान चर्चा चलेको छ । सञ्चारमाध्यमहरूका अनुसार प्रभास रामको भूमिकामा भने हुने छैनन् ।

रामको भूमिका बलिउडकै अभिनेताले पाएका छन् । खबरअनुसार ऋतिक रोशन रामायणमा राम बन्दैछन् भने दीपिका पादुकोण सीता बन्नेछन् । प्रभास भने रावणको भूमिकामा देखिने चर्चा चलेको छ । तर यसबारे निश्चित भइसकेको छैन ।

पिंकभिलाका अनुसार प्रभासको भूमिकाबारे निर्देशक नितेश तिवारीकै नजिकका स्रोतले जानकारी दिएका हुन् । फिल्मको लागत करिब ६ सय करोड भारू हुने पनि पिंकभिलाले लेखेको छ । यो हालसम्मकै महँगो भारतीय फिल्म हुनेछ ।

हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुने भएकाले फिल्मको टिमले बाहुबली प्रभासलाई नै रावणको भूमिकामा राख्न खोजेका हुन् । यसबारे आधिकारिक घोषणा नभएर छलफल मात्र चलेको पनि सञ्चारमाध्यमहरूले लेखेका छन् ।

रामायण बनिुसक्न पनि करिब दुई वर्ष लाग्ने अनुमान छ । फिल्मका बारेमा बोल्दै निर्देश नितेश तिवारीले भनेका छन्, ‘हामी यसलाई तीन भागमा बनाउनेछौं । किनकि यो धेरै लामो कथा हो । तीनवटै फिल्मलाई एक एक गरेर छोटोछोटो अन्तरालमा रिलिज गरिनेछ ।’

बाहुबली र साहोमा हिरो बनेका प्रभासले रावणको भूमिका निर्वाह गर्छन् वा गर्दैनन्, त्यो हेर्न बाँकी नै छ । भारतकै ठूलो प्रोजेक्ट मानिएको फिल्ममा उनी आउँदैनन् भनेर किटान गर्न पनि नसकिने भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित