
-प्रतिक पौडेल
भैरहवा, १० असोज । पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा ४० औं विश्व पर्यटन दिवसको अवसर पारेर विशेष कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रदेश नं ५ उधोग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरी र गण्डकी प्रदेशका उधोग, वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले संयुक्त रुपमा बेलहिया नाका हुँदै शुक्रवार नेपाल प्रवेश गर्ने २ जना पर्यटकलाई स्वागत गरेका हुन् । पर्यटकलाई नेपाली ढाकाटोपी, फुल माला र खादा ओढाएर समेत सम्मान गरिएको हो ।
मन्त्री लिला गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल बोल्दै गण्डकी प्रदेशको पर्यटन विकासको प्रमुख आधारनै बेलहिया नाका र लुम्बिनी रहेको बताउदै बेलहिया नाकामा आएर पर्यटकलाई एकाबिहानै स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
लम्सालले पर्यटनको कुरा गरिरहदा गण्डकी र प्रदेश नं ५ को पर्यटन कुरा मात्र गरेर नहुने बताउँदै मेचीदेखि माहाकाली सम्मको हरेक पर्यटकिय क्षेत्रको पर्यटन प्रर्वद्धन हुनुपर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै मन्त्री गिरीले पर्यटन विकास नै नेपालको प्रमुख समृद्धिको आधार रहेको बताए । गिरीले भने गण्डकी प्रदेश र प्रदेश नं ५ एक अर्कामा सहकार्य गरेर पर्यटनको विकास गर्ने आफूहरुको प्रमुख प्रथामिकता हो ।
कार्यक्रममा प्रदेश नं ५ प्रमुख सचिव तोयनारायण ज्ञवाली, पर्यटन मन्त्रालयका सचिव राधा वाग्ले, सिद्धार्थनगरका मेयर हरि अधिकारी, नेपाल एशोयिसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) ५ नम्बर प्रदेश संयोजक सागर अधिकारी लगायतले बोल्दै पर्यटनको बिकासनै समृद्धीको प्रमुख आधार रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक प्रकाश सपुत र प्रजापती पराजुलीले पनि आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशदेखि पर्यटन व्यवसायी सहितको पर्यटन मन्त्रालयको टोली भैरहवा आइपुगेको थियो ।











प्रतिक्रिया