११ मंसिर २०८३, शुक्रबार

कार्यावधिको उत्तरार्धतिर आईजी खनालविरुद्ध ‘गुरिल्ला हल्ला’

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । आउने फागुनसम्मका लागि पदीय जिम्मेवारीमा रहेका नेपाल प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालविरुद्ध अनेक प्रकरणका हल्ला चलाउन थालिएको छ ।

संगठनभित्र र बाहिरका उनका विरोधीले गुरिल्ला शैलीमा विविध प्रकरणमा तथ्य र तर्कबिना नै खनालको नाम मुछेर विवादमा तान्ने काम गरिरहेका हुन् ।

हालै मात्र भीआईपी सुरक्षाका निम्ति खरिद गरिएका मोटरसाइकल प्रकरणमा अख्तियारले प्रहरी प्रधान कार्यालयमा छापा मारेको हल्ला चलाइएको थियो । अख्तियारका अनुसार प्रहरी प्रधान कार्यालयमा कुनै छापा मारिएको छैन । प्रधान कार्यालय सम्बद्ध स्रोतले पनि छापा नमारिएको दाबी गरेको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले त यस्तो प्रकरणका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताइसकेका थिए ।

यस्तै खनालसँग सरकार रुष्ट रहेको भन्दै उनको अमेरिका भ्रमण मन्त्रिपरिषद्को बैठकले अस्वीकृत गरेको हल्ला बाहिर ल्याइएको थियो । यस सन्दर्भमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले कुनै जानकारी नभएको बताए । यतिमात्र होइन, मन्त्रिपरिषद्ले गरेका निर्णयमा प्रहरीका तीन अतिरिक्त महानिरिक्षकको सरुवा गर्ने उल्लेख छ । तर, आईजी सम्बद्ध कुनै पनि प्रकारको निर्णय १४ वटा बुँदामा उल्लेख छैनन् ।

‘प्रधानमन्त्री, सरकारका जिम्मेवार मन्त्रीहरूमा चर्चा नै नभएको विषयमा कसरी हल्ला हुन्छ, अचम्ममा परिएको छ’, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता भन्छन्,‘अहिले सरकार सुरक्षा अंगका प्रमुखका कामसँग सन्तुष्ट रहेको छ । आफैं विवादमा आउने कुनै जोखिमपूर्ण अप्रत्यासीत विषयमा प्रवेश गर्न चहाँदैन ।’

दशैंलगत्तै नेपालमा उत्तरी छिमेकी चीनका राष्ट्राध्यक्ष सी जिङ फिनको भ्रमण हुने भएकाले सुरक्षा व्यवस्थामा सक्रिय हुनुपर्ने भएकाले आईजी खनाल आफैंले अमेरिका नजाने निधो गरेको बताइएको छ ।

‘विशिष्ट व्यक्तिको भ्रमणको तयारी र लगत्तै इन्टरपोलको बैठकको कुरा रहेका कारणले पनि अमेरिका भ्रमणमा जानु उचित नहुने निधो गरिएको हो’, प्रधान कार्यालय स्रोतले भन्यो,‘बजारमा अनेक प्रकारका हल्ला आएका छन् त्यसमा कुनै सत्यता छैन ।’

प्रहरी प्रमुखको कार्यावअधि अन्तिम चरणमा आउँदा नेपालमा प्रायः यस्ता हल्ला राजनीतिक तह, प्रहरी संगठनका विशिष्ट ओहदामा रहेका र पदीय जिम्मेवारी ताकेका व्यक्तिबाट हुँदै आएको छ । सुरक्षा मामला जानकारहरूका अनुसार नेपाल प्रहरीमा ०५२ यता यसअघि यस्ता हल्ला चलाइने गरिएका छन् ।