
काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले आउँदो मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो । आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ ।
संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता हुन भएका राजनीतिक दलहरूलाई आगामी मंसीर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि चुनाव चिन्ह निर्धारणपछि प्रदान गरेको हो ।
उपनिर्वाचनका लागि २१ (एक्काइस) राजनीतिक दलहरूले आयोगमा दल दर्ताको लागि पेश गरेका निवेदन बमोजिम आयोगले दल दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको हो ।
एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह पाएको छ । नेपाली काँग्रेसको पनि पुरानै चिन्ह रहेको छ ।
एकीकरण भएका र नयाँ दर्ता भएका दलहरूले नयाँ चुनाव चिन्ह पाएका हुन् । यसअघि एमालेले सूर्य र माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिन्ह प्रयोग गरेको थियो ।
गोलाकारभित्रको हँसिया हथौडा चिन्ह यसपटक पनि मतपत्रमा छापिने भएको छ । एमाले र माओवादीको एकतासँग असन्तुष्ट रहेका गोपाल किराँतीको पार्टीले सोही चुनाव चिन्ह प्रयोग गर्ने भएको हो ।
त्यस्तै, सत्तारूढ समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिन्ह प्रयोग गर्ने भएको छ । उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी एकीकरण भएर समाजवादी पार्टी बनेको हो ।
फोरमले मसाल र नयाँ शक्तिले आँखा चुनाव चिन्ह लिएर यसअघि निर्वाचन लडेका थिए । त्यस्तै, साझा पार्टीले तराजु चुनाव चिन्ह पाएको छ ।
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले गत चुनाव अघि नेपाली कांग्रेससँग एकीकरण गरेको थियो । तर, एकीकरणमा असन्तुष्टहरूले नेपाल फोरम लोकतान्त्रिक पार्टीको नाममा दुई हात जोडेको नमस्कार चुनाव चिन्ह पाएका छन् ।
सिके राउतको जनमत पार्टीले लाउड स्पिकर चुनाव चिन्ह पाएको छ।
आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, साझा पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामका राजनीतिक दल दर्ता छन् ।
यसैवीच, मन्त्रिपरिषद्को गत असोज ७ गतेको निर्णयानुसार चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागि पनि मंसीर १४ गते नै उपनिर्वाचन हुने भएको छ ।
उपनिर्वाचन प्रयोजनको लागि असोज ७ गतेसम्ममा नाम दर्ता भई सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा भाग लिन पाउने आयोगका उपसचिव एव् सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।











प्रतिक्रिया