११ मंसिर २०८३, शुक्रबार

‘क्र्यास टेस्ट’मा कफल्लो हुन्डाईको यो गाडी ! 

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । दुर्घटना नेपाली सडकका लागि नयाँ विषय होइन । हरेक दिन जसो भइरहन्छ । ट्राफिक चेतनाको काम पनि भएको मानिन्छ । कति मानवीय त्रुटी अर्थात् चालकको त्रुटीका कारण हुन्छ भने कतिचाहिँ गाडीकै गुणस्तरताका कारण पनि हुन्छ ।

एउटा कठोर दुर्घटना यसको उदाहरण हो ।

कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भयो । कार थियो, हुन्डाईको ‘ग्रान्ड आई टेन’ । बा२१च ६४०९ नम्बरको कारमा सवार देबचुली नगरपालिका केउरेनीका ३५ वर्षीय पूर्णबहादुर बिक, २९ वर्षीय हिरा राना, ३१ वर्षीय दीपेश राना, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज राना मगरको मृत्यु भयो ।

यो दुर्घटना प्रकरणमा ट्रक र कार चालकको दोष स्वभाविक देखिन्छ । यसभन्दा बाहेक पनि नेपालमा ल्याउने, आयात गरिने, कम्पनीले निर्यात गरी नेपाली सडकका लागि बेचिएका सवारीको गुणस्तरताको विषयमा त्यति बहस हुँदैन ।

हो, अब नेपाल निर्यात गरिने, २ सय प्रतिशत भन्दा ज्यादा भन्सार तिरेर ल्याइएको यहि कारको गुणस्तरतामाथि पनि प्रश्न उठेको छ ।  हुन्डाईको ग्रान्ड आई टेनको नेपालमा बजारमूल्य २५ लाख रुपियाँ छ । यसको बेलयाती मुल्य ९ हजार पाउण्ड हो । विश्वकै समृद्ध देशका धनी उपभोक्ताले ठ्याक्कै आधा रकममा यो भन्दा गुणस्तरता भएको गाडी पाउँछन् ।

नेपालमा गुणस्तरको जाँच नै नगरी यसलाई सडकमा दौडन दिइन्छ । अर्थात् कफल्लो गाडी चल्छ ।  बेलायतमा ९ लाख तिर्नेले जुन गुणस्तर र सेफ्टी फिचर पाउँछ, डबल पैसा तिरेर त्यसको आधा पनि नेपाली उपभोक्ताले पाउँदैन ।  गाडीको डबल मूल्य तिरेर टिनको बाकस नेपालमा ठेलिन्छ । हैन भने दुर्घटना भएको गाडीको अवस्था हेर्दा नै थाहा हुन्छ ।

विज्ञहरूका अनुसार ‘क्रयाश टेस्ट’मा उच्चतम अंक नल्याएको गाडी नेपाली बजारमा पठाइन्छ ।

नारायण गाउँले नामका एक जना व्यक्तिले यहि सन्दर्भ उल्लेख गर्दै फेसबुकमा दुर्घटनाबारे लेखेका छन्,‘यो दुर्घटना यूरोपमा यही गाड़ीमा भएको भए पनि शायदै पाँच जनाको मृत्यु हुँदो हो । ह्युन्डाइले यूरोपमा बेच्ने यही मोडलको सेफ्टी फिचर निकै उच्च र प्रदूषणको तह निकै कम छ । तर नेपाल, भारत र साउथ अमेरिकन देशमा बेचिने यही मोडलको सेफ्टी लेवल ज्यादै न्यून रहेछ ।’

चाडवाडको बेला, सवारी साधन खरिद गर्नेको घुइँचो हुन्छ । यसका आकर्षक विज्ञापन पनि हुन्छन् । भन्सारलगायत कम्पनीदेखि डिलरसम्मको कमिशन पनि जोडिएको हुन्छ । तर, ग्राहकले पाउने सवारी साधनचाहिँ टिनको पाप्रो मात्रै हो ?

गाउँले अगाडि लेख्छन्,‘बेलायतमा ९ हजारमा बिक्ने गाड़ीले पनि भन्सार तिरेकै हुन्छ, सड़क दस्तुरदेखि अन्य कर तिरेरै आएको हुन्छ । कामदारले पाउने लाखौंको तलब र महँगो शोरूमको खर्च पनि जोडिएकै हुन्छ । नाफा पनि पाउण्डमैं जोडिन्छ । ग्यारेन्टी पनि दिनै पर्यो । यो सबै गरेर ९ हजारमा बेच्न मिल्छ भने हामीले त अझ सस्तोमा बेच्न मिल्नुपर्ने हो । तर सरकारले गाड़ीको मूल्यभन्दा बढ़ी त कर नै लिने रहेछ । नाफा पनि आफूखुशी राखे भयो । उपभोक्ताबारे देशमा कसले सोच्छ र ?’

सरकारले जुन हिसाबले भन्सार शुल्क लिएको छ त्यो हिसाबले गुणस्तर मापन नगरेकै ठहरिन्छ ।