५ कार्तिक २०८३, बिहिबार

एनआइसी एशिया रेमिटको जापानबाट रेमिट्यान्स शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । एनआईसी एशिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ ।

ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ तथा ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् ।

यसका साथै नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआईसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् ।

यसैगरी, नेपालका समग्र भौगोलिक क्षेत्रहरुमा आफ्नो उपस्थिति थप दरिलो बनाउने क्रममा एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा यही असोज ६ गतेदेखि सञ्चालनमा आएको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १३ स्थित बाझापाटन शाखाकोे उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे ।

त्यस्तै पर्सा जिल्ला, वीरगञ्ज महानगपालिका वडा नं १३ स्थित पावरहाउस चोक शाखाको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरे ।

बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताएका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।